करिब ५ करोड बत्ती प्रज्वलन गरी शिवसवरी धामको कार्यक्रम सकियो 



सिसहनियाँ २७ जेठ । दाङ देउखुरीको शिवसवरी धाम धार्मिक केन्द्र राप्ती गाउँपालिका ५ पहरूवामा करिब ५ करोड बत्ती प्रज्वलन गरी कार्यक्रम सम्पन्न भएको छ । नवौं स्थापना दिवसको अवसरमा विश्व शान्तिका लागि ऐतिहासिक ३ करोड बढी बत्ती प्रज्वलन कार्यक्रममा करिब ५ करोड बत्ती बाल्न सफल भएको धामकी संरक्षक गुरु शिवलक्ष्मी चौधरीले जानकारी दिएकी छिन् । हजारौको संख्यामा उपस्थित श्रद्धालु भक्तजनहरुको सहभागितामा धामकी संरक्षक गुरु चौधरीले बत्ती प्रज्वलन गरेकी थिइन् । ५ दिन सम्म सञ्चालन भएको बत्ती प्रज्वलन कार्यक्रम नगद कुल २ लाख १९ हजार ४ सय ४६ रुपैयाँको कारोबार भएकोमा कुल आम्दानी २ लाख ६६ हजार ४ सय ५१ रुपैयाँ भएकोमा कुल १ लाख ३ हजार २ रुपैयाँ बचत भएको सचिवालय प्रमुख ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् । 

यसै बीच बिहिवार एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको समेत समापन गरिएको छ । कार्यक्रम संयोजक मिश्रुलाल चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिवालय प्रमुख ओमप्रकाश गुप्ताले गरेका थिए । ५ दिन सम्म चलेको कार्यक्रममा प्रमुख बाचक शिरोमणी पण्डित दिपकप्रसाद पौडेलले संगितमय कथा बाचन गरेका थिए ।

सो धार्मिक केन्द्रमा स्वर्ग प्राप्तिका लागि गंगा सागर, सागरघाट, विश्वको अग्लो त्रिशूल, १०८ वटा धारा, ५७ वटा शिव लिङ्ग, ३३ कोटी होमकुण्ड, कैलास पर्वत, शिव मन्दिर, भोलेनाथको मन्दिर, मुक्तिनाथ बाबाको मन्दिर, सौणाकोट बाबाको मन्दिर, प्रभुको लुकामारी, प्रभुको गुफा, भगवती देवीको मन्दिर, गोवर्धन पर्वत, सन्तोषी माताको मन्दिर, हनुमानको मन्दिर, बिष्णु भगवानको धुना, बुद्ध भगवानको धरहरा, सुपादेउराली दर्शन, राम भगवानको कुट्टी, बिष्णु भगवानको पोखरी र शिवघाट रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्