प्रदेश ६

शनिबार नेकपाले कैलाली बन्द गर्ने

By थाहा अनलाइन

March 16, 2018

२ चैत्र धनगढी । नेपाल कम्युनिस्ट पार्टीले भोलि शनिबार कैलाली बन्दको आह्वान गरेको छ । आफ्ना नेताहरुलाई मेयर ममताप्रसाद चौधरीको घटनासँग जोडेर गिरफ्तार गरिएको भन्दै विरोधस्वरुप नेकपाले बन्दको आह्वान गरेको हो ।

कैलाली इन्चार्ज महान र सेक्रेटरी अमरले जारी गरेको विज्ञप्तिमा झुट्टा मुद्दा लगाई नेता कार्यकर्ता सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै आपत्ति जनाइएको छ । नेकपा कैलालीले गिरफ्तार गरिएका नेता–कार्यकर्ताको रिहाईको माग समेत गरेको छ ।

“दलाल राज्य व्यवस्था, भ्रष्ट जनप्रतिनिधि र समाजमा बढिरहेको महिला हिंसा, रुढीवादी विकृतिविरुद्ध बोलेकै कारण फरक राजनीतिक आस्थाका आधारमा पूर्वाग्रह राखि गिरफ्तारी बढाएपछि सयौं नेता कार्यकर्ता घर छोड्न बाध्य भएका छन् ।

न्यायको पक्षमा उभिन र प्रहरी ज्यादतीको विरोधमा संघर्षको बाटोमा अघि बढ्न बाध्य पारिएको छ” विज्ञप्तिमा भनिएको छ ।

नेकपाले आज साँझ जिल्लाभरी मशाल जुलुसको आयोजना गरेको छ । बन्दमा सहयोग गर्न सबैसँग आग्रह पनि विज्ञप्तिमा गरिएको छ ।

मेयर चौधरीको घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेकपाको युवा संगठन योङ रेड फोर्सका केन्द्रीय सदस्य कमल क्षेत्री, घोडाघोडी नगरपालिका सेक्रेटरी भरत शाह, टिकापुर नगर सेक्रेटरी हृदय बोगटी, धनगढी उपमहानगरपालिका सदस्य पुरन खनाललाई गिरफ्तार गरेको छ ।

प्रहरीले घटनाका दोषी भन्दै पत्रकार सम्मेलन आयोजना गरेरै नेकपाका नेताहरुलाई सार्वजनिक समेत गरेको थियो ।