एमाले सांसद तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित



२ चैत

काठमाडौँ । एमाले सांसद शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएकी छिन् ।

कांग्रेस उम्मेदवार पुष्पा भूसाललाई हराउँदै तुम्बाहाम्फे उपसभामुख निर्वाचित भएकी हुन् । वाम गठबन्धनकी तुम्बाहाम्फेको २०१ मत हुँदा भूसालले ६१ मत पाएकी थिईन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव प्रसाद गुरुङको प्रस्ताव र एमालेका रवीन्द्र अधिकारीको समर्थनमा तुम्बाहाम्फे उपसभामुख भएकी हुन् । ५३ वर्षीया तुम्बाहाम्फे एमालेकी समानुपातिक सांसद हुन् ।

सभामुख निर्वाचनमा गठबन्धनकै कृष्णबहादुर महरा विरुद्ध उम्मेदवार नउठाएको कांग्रेसले उपसभामुखमा भने भूसाललाई अघि सारेको थियो ।

एमाले र माओवादी केन्द्र एकीकरण नजिक रहेको भन्दै कांग्रेसले संवैधानिक व्यवस्थाअनुसार सभामुख-उपसभामुख एकै पार्टीले लिन नमिल्ने तर्क गरेको छ । तर, गठबन्धनले पार्टी एकीकरण नभएको बताउँदै जनमतको कदर गर्न विपक्षीलाई अपिल गरेको थियो ।

तुम्बाहाम्फे आफूले पाएको नयाँ जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने बताउँदै पार्टी राजनीतिबाट माथि उठेर उपसभामुखको भूमिका निर्वाह गर्न म सक्षम छु भनेकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्