टप फिचर

मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता

By Thaha - Online

July 21, 2022

झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ। योसँगै गाउँपालिकाले एउटै नागरिकता नम्बर र एउटै जन्म मिति भएका लाभग्राहीलाई दुई वा सोभन्दा बढी परिचयपत्र जारी गरी दुई वटै परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ताबापतको रकम प्रदान गरेको पाइएको हो।

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि-२ ०७५ ले लाभग्राहीको नाम, दर्ता, नवीकरण, लगत कट्टा तोकिएको मितिभित्रै गर्नुपर्ने व्यवस्था गरेको छ। सोही कार्यविधिले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नियमित रूपमा अनुगमन गर्नुपर्ने, केन्द्रीकृत सूचना प्रणालीमा प्रविष्ट गरी अद्यावधिक गर्ने जिम्मेवारी सामाजिक सुरक्षाको अख्तियारी पाउने सम्बन्धित निकायको हुने व्यवस्था गरेको छ।

तर, गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका २० जनाभन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको विवरण तयार गरेको छ। मृत्यु भएका व्यक्तिको नाममा मात्रै गाउँपालिकाले ३ लाखभन्दा बढी भुक्तानी गरेको छ। मृत्यु भएका व्यक्तिको नाममा गाउँपालिकाले भत्ता वितरण गरेसँगै महालेखाले सो रकमलाई बेरुजु लेखेको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।