कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले करारमा नियुक्त गरेका शिक्षकको करार अवधि थप नगर्ने निर्णय गरेको छ । पालिकाले अभाव शिक्षक दरबन्दी पूर्ति गर्न स्वयंसेवक शिक्षकको व्यवस्था गरेको थियो । पालिकाले कार्यविधि बनाई ५१ जना शिक्षक नियुक्त गरेको थियो । स्थानीयलाई प्राथमिकता दिँदा अधिकांश शिक्षक अध्यापन अनुमति पत्र नभएका नियुक्त गरेको थियो ।
पालिकाको शिक्षाको गुणस्तरमा सुधार नभए पछि पालिकाले नयाँ नीति लिएको बताइएको छ । जस अन्तर्गत पालिका भित्रको शैक्षिक दरबन्दी मिलान, प्रधानाध्यापक सँग सुधारका लागि छलफल, दरबन्दी अपुग भएका विद्यालयमा कुशल शिक्षक नियुक्त गर्ने योजना बनाएको छ ।
सामाजिक सञ्जालमा विजयनगर गाउँपालिकाले कार्यकर्ता नियुक्त गर्न लाग्यो भनेर आरोप लगाएका छन् । तर नगरपालिकाले कार्यकर्ता नभएर कुशल शिक्षक तथा कर्मचारीलाई कार्यविधि निर्माण गरी नियुक्त गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो । अव नियुक्त हुने शिक्षकलाई पालिकाले करार सम्झौता गरी शिक्षामा सुधारका लागि सर्त समेत दिइने बताइएको छ । निष्पक्ष तरिकाले युवा र शिक्षण अध्यापन शैली भएका क्वालिटी दिने खालका शिक्षक प्राथमिकतामा पर्ने बताइएको छ ।
गाउँपालिकामा शिक्षाको अवस्था खस्किँदै गएको भन्दै पालिकाको सार्वजनिक सुनुवाइमा समेत आवाज उठको थियो । सार्वजनिक सुनुवाइमा टेक बहादुर भण्डारी, बालजी प्रसाद चौधरीले शिक्षाको गुणस्तर खस्किएको गुनासो गर्नु भएको थियो । सो कार्यक्रममा अध्यक्ष थापाले शिक्षाको गुणस्तर सुधारका लागि योजना बनाउने बताउनु भएको थियो ।
पालिकालाई शिक्षक विद्यार्थी अनुपात अनुसार ६५जना थप शिक्षकको आवश्यकता परेको शिक्षा शाखा प्रमुख हरिहर बेल्वासेले बताउनु भयो । नयाँ विज्ञापन अनुसार शिक्षण अनुमति पत्र समेत अनिवार्य गरिएको छ । पालिकाले प्राथमिक तहको लागि १५ हजार ७ सय निमावि तह १८ हजार र माध्यमिक तहको लागि २२ हजार तलब स्केल समेत निर्धारण गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।