जनार्दन शर्मामाथि छानबिन प्रतिवेदन तयार

अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ लेखियो


काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले अन्तिम प्रतिवेदन तयार गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समेटेर अन्तिम प्रतिवेदन तयार गरेको हो ।

समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ लेखिएको छ । यसमा सत्तापक्षमा रहेका सांसदहरु एकमत भएका छन् भने प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले फरक राय दिएका छन् ।

समिति सचिव सुरेन्द्र अर्यालले समितिको प्रतिवेदन तयार भएको र केही प्राविधिक कुरा मिलाएर भोली सभामुखलाई बुझाइने जानकारी दिनुभयो । उहाँले केही विषयमा सहमति जुटेको र नमिलेका विषयलाई पनि समावेश गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । समिति सदस्य खगराज अधिकारीले प्रतिवेदन अन्तिम टुङ्गोमा पुगेको र सबैका आफ्ना–आफ्ना विचारहरू राखिएको तर सर्वसम्मत हुन नसकेको बताउनुभयो ।

करका दर हेरफेरका विषयमा अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा छानबिन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो । सुरुमा १० दिनको समय पाएको समितिको म्याद ७ दिन थपिएको थियो । समितिको म्याद आज सकिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्