लमही नगर ३३ प्रतिशत राजस्व सङ्कलन गर्न सफल, ६७ प्रतिशत खर्च 



दाङ । लमही नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा कुल बजेटको जम्मा ६७.४६ प्रतिशत रकम खर्च गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा चालू र पुँजीगत गरी कुल बजेट १ अर्ब १५ करोड ५२ लाख १७ हजार मध्यबाट ७७ करोड ९३ लाख २७ हजार ७ सय २४ रूपैया ४ पैसा खर्च गर्न सफल भएको हो ।
पालिकाले ७८/७९ को चालू र पुँजीगत गरी  कुल बजेट मध्यबाट ३८ करोड, ५८ लाख, ८९ हजार, २ सय ७५ रूपैया ९६ पैसा भने खर्च गर्न सकेन । खर्च गर्न नसक्दा कुल बजेटको ३२.५४ प्रतिशत रकम फ्रिज भएको छ ।

लमही नगरपालिकाले बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले १० करोड ८८ लाख, ७९ हजार ९ सय ९१ रूपैया ६२ पैसा  राजस्व सङ्कलन भएको जानकारी दिए ।


नगरपालिकाले लक्ष्यको जम्मा ३३.१६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । पालिकाले ३२ करोड ८३ लाख, ५० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिए पनि २१ करोड, ९४ लाख, ७० हजार, ८ रूपैया ३८ पैसा रकम सङ्कलन गर्न सकेन । लक्ष्यको ६६.८४ रकम राजस्व सङ्कलन गर्नबाट नगरपालिका चुकेको छ ।

लमही नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित बसोबास हरूलाई जग्गा वितरण गर्न नसक्दा लक्ष्य अनुसारको शतप्रतिशत राजस्व सङ्कलनमा चुकेको हो । नगरपालिकाले सबैभन्दा बढी ‘लगत सङ्कलन भूमिहीन तथा अव्यवस्थित बसोबास जग्गा वितरण’ बाट मात्र १३ करोड, ४० लाख रूपैया राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर जग्गा वितरण गर्न  नसक्दा नगरपालिका लक्ष्यमा पुग्न भने सकेन ।

कार्यक्रममा अधिकांश वक्ताले योजना सुरुवाती क्षण देखी भुक्तानी सम्ममा कठिनाइ रहेको भन्दै आक्रोश पोखेका थिए । टोलबिकास संस्था मार्फत हुने योजनाहरूको भुक्तानीमा समस्या देखिएको हो । नगरपालिकामा अहिले पनि सम्पन्न भइसकेका र भुक्तानी हुन बाँकी रहेका करिब ६० वटा योजना हरूको फाइल थन्किएका छन् । ती मध्य अधिकांश फाइलहरू टोल विकास संस्था मार्फत सम्पन्न भएका योजनाहरू हुन ।

प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले लेखा परिक्षकको सरबरले काम नगर्दा समयमै चेक काट्न नसकिएको र नयाँ खाता अपडेट भइसकेपछि बाँकी योजनाहरूको भुक्तानी गरिने जानकारी दिए । उनले सम्भव त यही साउन महिना भित्रमा भुक्तानी गर्न आफूहरू लागिपरेको बताए ।

कार्यक्रममा नगर बासीले कृषि, भूमि, योजना, न्यायिक समिति, पशु शाखा, योजना भुक्तानी, मुस्कान सहितको सेवा, अनुगमन, नागरिकता सिफारिस, लगायतका यावत विषयमा प्रश्न उठाएका थिए ।
कार्यक्रममा नगर बासीले राखेका जिज्ञासा मेटाउँदै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी र प्रमुख प्रशासकीय अधिकृतले समग्रमा लमही नगरपालिका समृद्ध उन्मुख रहेको बताए । नगर बासीको सुझावलाई आत्मसात् गर्दै आगामी वर्षमा अझै सक्रिय रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरे ।

योजना सम्झौता र निकासामा झन्झटिलो भएको नगर बासीको गुनासा प्रति उनीहरूले अबको योजना समयमै सम्पन्न गर्नका निम्ति उपभोक्ताले पनि समयमै सम्झौता गरेर काम गर्नुपर्ने बताए । नगर बासीका गुनासा र सुझावलाई आत्मसात् गर्दै सोही अनुरूप अबको योजना तथा कार्यक्रम सम्पन्न गर्ने पनि बताए ।
कार्यक्रमको सहजीकरण पत्रकार किरण विक्रम शाहले गरेका थिए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्