काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विश्व अर्थतन्त्रमा समस्या देखिएकोले देशको अर्थतन्त्र सबलीकरण गर्ने आवश्यकता रहेको बताउनुभएको छ । शर्माले विवादमा परेर राजीनामा दिएको २५ दिनपछि पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ ।
आज आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गर्नुभएको हो । संसदीय छानबिन विशेष समितिबाट सफाइ पाउनुभएका शर्माले पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।
नवनियुक्त अर्थमन्त्री शर्माले पदभार ग्रहणपछि बोल्दै आत्मनिर्भर र उत्पादनमुखी बजेट ल्याएकाले बजेट कार्यान्वयन गरेर अर्थतन्त्र सबलीकरणका लागि आफू लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘विश्व आर्थिक अवस्था, विभिन्न युद्धका कारण अर्थतन्त्रमा समस्या रहेको छ । यस्तो अवस्थामा हाम्रो देशको अर्थतन्त्रलाई सबलीकरण गर्नुपर्ने आवश्यकता छ । सबलीकरणका लागि आयात प्रतिस्थापन, निर्यात वृद्धि र विदेशी मुद्राको सञ्चिति बढाउने दिशामा लैजाने हाम्रो विश्वास रहेको छ । त्यसलाई कार्यान्वयन गरेर नेपालको अर्थ व्यवस्थालाई सुदृढ गरेर लैजाने र आत्मनिर्भरको दिशातिर लैजाने प्रतिबद्धता जनाउन चाहन्छु ।’ मन्त्री शर्माले बजेट कार्यान्वयनका लागि कर्मचारी सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो ।
मन्त्री शर्मामाथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो । त्यसबारे छानबिन गर्न समिति बनेकै दिन २२ असारमा शर्माले पदबाट राजीनामा दिनुभएको थियो तर छानबिन समितिले शर्मालाई लागेको आरोपबाट सफाइ दिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।