२२ जनाको ह’त्या गर्ने फूलन कसरी बनिन् दलितको ‘मसिहा’



जीवनको गाडीले हामीलाई कहिले कुन मोडमा ल्याउँछ भन्नै सकिन्न । फूलन देवी उर्फ ​​दास्यु सुन्दरीलाई पनि जीवनको गाडीले धेरै मोडमा पुर्‍यायो । दस्यु सुन्दरीको नामले चर्चित फूलन देवी कुनै जमानामा डरको दोस्रो नाम हुने गर्थिन् । थुप्रै पटक सामूहिक बलात्कार, अत्याचार र त्यसपछि डाँकुबाट सांसद बनेकी फूलनको जीवनको यात्राले धेरैलाई चकित बनाइदिन्छ ।फूलन देवीको आज अर्थात् अगस्ट १० मा ५९ औँ जन्म जयन्ती हो । उनी आफ्नो जीवनमा भएको एउटा काण्डका कारण पूरा देश भरी चर्चित भएकी थिइन् । यति मात्रै होइन उनी आफ्नो मृत्युको २१ वर्षपछि पनि उत्तर प्रदेशको राजनीतिमा कतै न कतै सक्रिय छिन् । फूलन देवीको जीवनमा बलिउडमा एउटा फिल्म बन्यो जसले धेरैको मन–मस्तिष्कमा गहिरो छाप छोडेको थियो ।

३० वर्ष जेठोसँग भएको थियो विवाह

फूलन देवीको जन्म सन् १९६३ मा युपीको जालौन जिल्लाको घूराको एउटा सानो गाउँमा भएको थियो । मल्लाह परिवारमा जन्मिएकी फूलनको जीवन बाल्यकालदेखि नै अत्यधिक कठिन रह्यो । असाध्यै गरिबीमा हुर्किएकी फूलन असाध्यै हक्की स्वभावकी थिइन् । यति मात्रै होइन उनले महिला र पिछडिएको वर्ग हुनुको पीडा पनि झेलिसकेकी थिइन् । रिसाहा स्वभावका कारण एक दिन फूलनले १० वर्षको उमेरमा जमिन हडप्ने आफ्ना काकाको छोराको टाउकोमा इट्टा हानेकी थिइन् । उनको यस्तो गरेपछि सजायको रुपमा ११ वर्षको उमेरमा फूलनको विवाह ३० वर्ष जेठा व्यक्तिसँग गरियो । विवाहपछि श्रीमानले उनको बलात्कार गरे, बिस्तारै उनको स्वास्थ्य यति धेरै बिग्रियो कि उनी माइती जान बाध्य भइन् । केही दिन पछि उनका भाइले उनलाई घर फिर्ता पठाइदिए । घर पुगेपछि फूलनलाई उनका श्रीमानले दोस्रो विवाह गरिसकेको थाहा भयो । श्रीमान् र उनकी नयाँ श्रीमतीले फूलनलाई असाध्यै दुःख दिए, त्यसपछि उनले घर छोड्ने निर्णय गरिन् ।

जब फूलनले पीडा भोगिन

घर र माइती दुबै छोडेपछि फूलन चम्बलका डाँकुको समूहमा समावेश भएकी थिइन् । तर केही हप्तापछि नै ठाकुरको समूहले १८ वर्षकी फूलनलाई अपहरण गरेर बेहमई गाउँमा तीन हप्तासम्म सामूहिक बलात्कार गरे । उनी कसैपछि ठाकुरको जालबाट भाग्न सफल भइन् र त्यसपछि सन् १९८१ मा फूलन देवीले आफूमाथि भएको ज्यादतीको बदला लिँदै २२ ठाकुरलाई लाइनमा उभ्याएर गोली ठोकिन् । यो घटनापछि नै फूलन देवी चर्चामा आइन् र उनको नाम ‘ब्यान्डिट क्विन’ रहन गयो । यसको दुई वर्ष पछि सन् १९८३ मा फूलन देवीले प्रहरीसमक्ष आत्मसमर्पण गरिन् । त्यसपछि २२ जनाको हत्या, ३० वटा चोरी र १८ वटा अपहरणको मामिलामा उनलाई ११ वर्षको कैद सजाय भयो । ११ वर्षको सजाय काटेपछि उनीमाथि लगाइएको सबै मुद्दा फिर्ता भए । जेलबाट बाहिरिएपछि फूलनले उम्मेद सिंहसँग विवाह गरिन् र समाजवाद पार्टीबाट चुनाव लडेर जितिन् । फूलनलाई दलितको मसिहाको रुपमा पहिचान दिलाइयो । २५ जुलाई सन् २००१ मा तीन नकाबधारीले फूलनदेवीलाई उनको दिल्लीको घर बाहिर गोली हानी हत्या गरिदिए ।

जब फिल्मी पर्दामा आयो ब्यान्डिट क्विन

देश भरी चर्चित भएकी यी महिलाको जीवनलाई बलिउडका निर्देशक शेखर कपुरले पर्दामा ल्याउने निर्णय गरेका थिए । लेखिका माला सेनले फूलन देवीको जीवनमा ‘ब्यान्डिट क्विन ः द ट्रू स्टोरी अफ फूलन देवी’ किताब लेखेकी थिइन् जसमा सन् १९९४ मा शेखर कपुरले फिल्म ‘ब्यान्डिट क्विन’ बनाए । यो फिल्ममा अभिनेत्री सीमा विश्वासले फूलन देवीको भूमिका निभाएकी थिइन् । त्यस वर्ष यो फिल्मले बेस्ट फिचर फिल्मको नेशनल अवार्ड पायो । साथै, फिल्मफेयरको बेस्ट क्रिटिक्स अवार्ड र बेस्ट डायरेक्सनको अवार्ड पनि पाएको थियो । यसका साथै सीमा विश्वासलाई पनि नेशनल अवार्डबाट सम्मानित गरिएको थियो । त्यति बेला यो फिल्म असाध्यै विवाद पनि आएको थियो । यति मात्रै होइन। फिल्ममा सीमा विश्वासले दिएको बलात्कारको दृश्यमा पनि ठुलै विवाद निम्तिएको थियो । यो सीनमा सेन्सर बोर्डले कैँची चलाएको थियो । फूलन देवीले पनि यो फिल्ममा व्यापक विरोध गरिरहेकी थिइन् । उनले थुप्रै थिएटर मालिकलाई धम्की पनि दिएकी थिइन् । तर अदालतको आदेशमा फिल्म रिलिज गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्