चीनद्वारा तातोपानी नाका बन्द



काठमाडौं। तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ। तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन।

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी दिए। तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भनिए पनि अब कहिले खुल्ने भन्नेबारे केही जानकारी नआएको उनले बताए।

तिब्बतमा कोभिड सङ्क्रमण बढेर आयत रोकिएको भन्ने आफूलाई जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि तिवारीले बताए। “खासा क्षेत्रमा ५८ जना कोभिड सङ्क्रमित भेटिएको भन्ने खबर आएको छ,” उनले भने। उनले पनि नाका कहिले सञ्चालनमा आउँछ भन्ने जानकारी नभएको बताए।

तातोपानी नाकाबाट अहिले दैनिक चारदेखि आठ कन्टेनर चिनियाँ सामग्री नेपाल आयात हुँदै आएको थियो। खासगरी स्याउ, मेसिनरी उपकरण, रोल कपडा उक्त नाकाबाट आयात भइरहेका थिए। जुरे पहिरो, भूकम्प, बाढी पहिरो, कोरोना महामारीलगायतका विपत्का कारण सो नाका बन्द हुने र खुल्ने हुँदै आएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्