जातीय विभेद र छुवाछुत  गर्ने विरुद्ध तत्काल प्रतिरोध गर्न अध्यक्ष नेपालको निर्देशन




नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले जुन ठाउँमा जातीय विभेद हुन्छ, त्यही ठाउँमा तत्काल प्रतिरोध गर्न निर्देशन दिनुभएको छ ।

नेपाल दलित मुक्ति सङ्गठनको चौथो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एक्काइसौँ शताब्दीमा पनि छुवाछूत गर्ने जो कसैलाई पनि नछोड्न र तत्काल प्रतिरोध गर्न निर्देशन दिनुभएको हो  । उहाँले देशको जुनसुकै ठाउँमा पनि छुवाछूत भए दलित मुक्ति सङ्गठनका नेता तथा कार्यकर्ताहरू र पार्टीका नेता कार्यकर्ताहरू एक भएर लाग्नुपर्ने उहाँको भनाई थियो ।

अध्यक्ष नेपालले एकीकृत समाजवादीका कुनै सदस्यले जातीय छुवाछूत गरे पार्टीबाट तत्काल निष्कासन गर्ने र सँगसँगै ऐन अनुसार कारबाही लागि अगुवाइ गर्ने प्रतिबद्धता पनि जनाउनु भयो  । ‘कुनै पनि कम्युनिस्ट कार्यकर्ताले विभेद गर्दैन । जातीय विभेद गर्ने कोही पनि नेकपा ( एकीकृत समाजवादी ) को नेता र कार्यकर्ता हुन सक्दैनन्, उहाँले भन्नुभयो , ‘कसैले छुवाछुत गर्न खोजे पार्टीमा उजुरी गर्नुस् । तुरुन्तै कारबाही गर्छौ ।’

अध्यक्ष नेपालले सबै दलित नेता तथा कार्यकर्ताहरूलाई काठमाडौं र सदरमुकाम केन्द्रित नहुन समुदाय सम्म पुग्न समेत निर्देशन समेत दिनुभयो ।  को उम्मेदवार हुन्छ भन्ने भन्दा पनि पार्टीका नेता उम्मेदवार हो भन्ने भावनाले काम गर्न  आग्रह गर्दै उहाँले पाँच दलीय गठबन्धन वर्तमानको आवश्यकता भएकोमा जोड दिनुभयो ।
बैठकमा सम्मानित नेता झलनाथ खनालले वर्गीय विभेद कायम रहिरहेसम्म समाज अग्रगामी दिशातर्फ जान नसक्ने भन्दै समाज परिवर्तनका लागि कसैलाई जिम्मा दिने भन्दा आफैँ अग्रसर हुनुपर्ने बताउनु भयो ।
नेता खनालले दलित मुक्तिका लागि समानुपातिक मात्रै नभएर समान हिस्सेदार हुनुपर्नेमा जोड दिँदै आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पार्टीले दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भयो ।
बैठकमा पार्टी उपमहासचिव डा. विजय पौडेल, स्थायी कमिटी सदस्य भविसोर पराजुली, केन्द्रीय सदस्य पार्वती विशुंखे लगायतले सम्बोधन गर्नुभएको थियो  । सो बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा दलित समुदायको उपस्थितिलाई बलियो बनाउन माग गरेको थियो । सो बैठकले विभिन्न विभागहरूको पूर्णता दिएको छ भने दलित आन्दोलनका विभिन्न समसामयिक विषयहरू पनि पास गरेको छ ।

दलित मुक्ति सङ्गठनका केन्द्रीय अध्यक्ष तथा नेकपा ( एकीकृत समाजवादी ) पोलिटब्युरो सदस्य गणेश विश्वकर्माको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय काठमाडौँमा भएको सो बैठकमा केन्द्रीय उपाध्यक्ष दुर्गा परियारले स्वागत गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्