१५ हजार यात्रुले लिए अग्रिम बस टिकट



काठमाडौँ । चाडपर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् ।

यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २२ गतेको निर्णयअनुसार यही असोज १ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएको जानकारी दिए । जसमध्ये असोज १ गते शनिबार सात हजार र असोज २ गते आइतबार आठ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् ।

सरकारले पश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्युठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर धरान विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्