काठमाडौं। नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले आफू असोज २० गते नेपाल आइपुग्ने बताएका छन्। उनले सामाजिक संजाल फेसबुकमार्फत् आफू २० गते नेपाल आइपुग्ने बताएका हुन्। उनले २० गते नेपाल आएर झूटा आरोपविरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्ने बताए।
उनले लेखेका छन्,‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६, २०२२ मा मेरो गृह देश नेपाल आइपुग्छु र झूटा आरोप विरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्नेछु। म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास छ भनी दोर्होयाउँछु। सबै कानून प्रवर्तन निकायहरू र सम्मानित अदालतहरू तिनीहरूको निष्पक्ष सुनवाई र निर्णयमा म दृढ विश्वास गर्दछु र म छिटो भन्दा छिटो न्याय पाउने आशावादी छु।
मेरा प्रिय शुभचिन्तकहरू म निर्दोष छु र मैले तपाईलाई कुनै गल्ती गरेको छैन भनी सबैलाई आश्वासन दिन्छु। मैले भोगेको अप्रिय अवस्थाबाट मुक्त भएँ र आफूलाई निर्दोष र षड्यन्त्रको सिकार साबित गर्नको लागि यो परीक्षाबाट गुज्रन तयार छु। म माथि लगाइएका सबै गलत आरोप समयको अन्तरालमा उजागर हुनेमा म विश्वस्त छु।’
आरोप लागेपछि लामिछाने स्वदेश फर्किन ढिलाइ हुँदै आएकामा पछिल्लो यस्तो धारणा आएको हो। उनले आफू कहाँ रहको भन्नेबारे चाहिँ केही खुलाएका छैन । उनी नफर्किएपछि प्रहरीले लामिछाने विरुद्ध डिफ्युजन नोटिस जारी गरिसकेको छ। एक १७ वर्षीय किशोरीले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।