टप फिचर

कर्णालीमा माओवादीको नेतृत्वमा सरकार बन्ने गरी भागबण्डा हुनुपर्छ : अध्यक्ष केसी

By Thaha - Online

October 01, 2022

सुर्खेत। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले कर्णाली प्रदेशमा माओवादी पहिलो बन्ने सम्भावना रहेको पार्टी भएको बताएकी छन्। सिट बाँडफाँट गर्दा प्रदेशमा माओवादी नै पहिलो पार्टी बन्ने गरी भागबण्डा मिलाउनुपर्ने उनको तर्क छ।

२०७४ को प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ २४ सिट मध्ये ९ सिट जितेको थियो। वाम गठबन्धन भएको हिसाबले सरकारको नेतृत्व माओवादीले गर्ने अवसर प्राप्त गरेको थियो। आसामी मंसिर ४ मा हुने निर्वाचनपछि पनि कर्णालीमा माओवादी नेतृत्वको सरकार बन्ने गरी सिट बाँडफाँट हुनुपर्ने केसीको भनाइ छ।

उनले भनेकी छन्, ‘७ वटा प्रदेशमा माओवादी पहिलो पार्टी बन्ने सबैभन्दा बढी सम्भावना भएको प्रदेश कर्णाली हो। विश्वास छ त्यसका लागि हाम्रा आदरणीय नेता कमरेडहरू लागि पर्नुभएको छ।’ यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कर्णालीमा माओवादी नेतृत्वको सरकार बन्ने गरी आफू लाग्ने बताएका थिए। सत्ता गठबन्धनले प्रतिनिधिसभाको भागबण्डाको टुंगो लगाए पनि प्रदेशतर्फको सिट बाँडफाँट हुन् सकिरहेको छैन।