धरानका मेयर हर्क साम्पाङले ” चमारे” शब्द प्रयोगले दलित समुदाय दुखी भएको भन्दै मागे माफी



पुस, धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुक पोस्टमा प्रयोग भएको शब्द दलित समुदायलाई नराम्रो लागेको भन्दै माफी मागेका छन् । ‘मैले पोस्ट गरेको स्ट्याटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुखी बनाएको रहेछ,’ उनले एक विज्ञप्ति निकालेर भनेका छन्, ‘त्यसका लागि क्षमाप्राथी छु ।’ उनले कसैलाई ठेस पुर्‍याउन नियतवश सो स्ट्याटस नलेखेको पनि स्पष्ट पारेका छन् । मेयर साम्पाङले आफूले समानताको भावनाको साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसङ्गति बेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनविरुद्ध लामो समय अभियान चलाएको पनि स्मरण गरेका छन् । मेयर साम्पाङले दलित समुदायलाई अवहेलना हुने शब्द प्रयोग गरेको भन्दै आलोचना हुँदै आएको थियो , दलित समुदायका अधिकारकर्मी सघ , संस्थाले साम्पाङलाइ कारबाहीको लागि आवाज उठाएका थिए । राष्ट्रिय दलित आयोगले साम्पाङको अभिव्यक्तिलाई ध्यानाकर्षण गराउँदै आत्मालोचनाको लागि अनुरोध गर्दा समेत सबैधानिक दलित आयोग खारेज हुनु पर्ने र उल्टै दलित आयोगलाई नै कारबाही गर्ने धम्की दिँदै स्टातस लेखिरहेका थिए । आयोगले गृह मन्त्रालयमा साम्पाङलाई कारबाही माग गर्दै निवेदन समेत गरेको छ । केही दिन अगाडि देखि साम्पाङको अभिव्यक्ति बारे सोसल मिडियामा निकै बहस भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्