Banner First

सामाजिक सञ्जालमा जातीय गाली गलौच गर्ने तीन जना विरुद्ध तिरुवाले दिए प्रहरीमा जाहेरी

By Saru Sunar

December 24, 2022

कालिकोट : सामाजिक अभियन्ता तथा पत्रकार वीर तिरुवालाई अश्लील शब्द प्रयोग गर्दै जातीय विभेद गरिएको छ । कालिकोट रास्कोट नगरपालिका वडा नम्बर ५ बस्ने तिरुवालाई सोही नगरपालिका तीन जनाले जातीय भेदभाव गरेका हुन् । रास्कोट नगरपालिका वडा नम्बर १ हेप्कोट बस्ने अभिलाल शाहीका छोरा वर्ष ३० का अशोककुमार शाही, उनकी श्रीमती साविना bकुमारी शाही र उनकी साली पशुविना शाही (प्रिया शाही) ले सामाजिक रूपमा जातीय विभेदमा खलल पुग्ने गरी भेदभाव गरेका छन् । पीडक तिनै जनाले सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने खालका विभिन्न अश्लील शब्दहरू प्रयोग गर्दै गाली गलौच गरेका हुन् । आपत्ति जनक र अपमान जनक शब्दहरू प्रति तिरुवाले शुक्रवार जिल्ला प्रहरी कार्यालय कालिकोटमा जाहेरी दर्ता समेत गरेका छन् । विभिन्न समयमा कुटपिट गर्ने योजनासमेत तय गरेर फोनमा धम्की दिएको उक्त कुरालाई सहन नसकी तिरुवाले जातीय विभेद सम्बन्धी जाहेरी दर्ता गराएको बताए ।जाहेरी दर्ता भए पनि अहिलेसम्म कसैलाई पनि प्रहरीले नियन्त्रणमा भने लिएको छैन ।

जाहेरीमा निज वीर तिरुवाले आफूलाई सामाजिक रूपमा खलल् पुग्ने गरी गाली गरेको र सिंगोे दलित समुदायको सामाजिक अस्तित्वलाई मेटाउने गरी भेदभाव गरेको हुँदा पीडकलाई जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ र (पहिलो संशोधन) ऐन, २०७५ को दफा ३ को उपदफा १२ अनुसार कसुर गरेको हुँदा उक्त ऐन को दफा ७ (ख) अनुसार हदैसम्मको सजाय गरी उक्त ऐन कै दफा (९) अनुसार प्रचलित ऐन कानुन कारबाही गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय कालिकोटमा जाहेरी दर्ता गराएका छन् । यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।