मैले स्वार्थका लागि राष्ट्रिय सहमतिको कुरा गरेको होइन : पौडेल



काठमाडौं। नेपाली काँग्रेस नेता रामचन्द्र पौडेलले देशलाई अहिलेको असहज परिस्थितिबाट पार लगाउन राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले राष्ट्रिय सहमतिका लागि विशेषगरी तीन कारण औँल्याएका छन्।

कमसल आर्थिक अवस्था, भूराजनीतिक दबाव र शान्ति प्रक्रिया जस्ता एजेण्डाले गर्दा सबै दलहरुबीच राष्ट्रिय सहमति हुनुपर्ने पौडेलले बताए। उनले राष्ट्रिय सहमतिको आह्वानलाई आफ्नो व्यक्तिगत स्वार्थसँग नहेरिदिन पनि आग्रह गरे। आफूले स्वार्थका लागि राष्ट्रिय सहमतिको प्रस्ताव नउठाएको उनले स्पष्ट पारे।

‘मैले अहिले मात्रै होइन, पहिलेदेखि नै राष्ट्रिय सहमतिको कुरा गर्दै आएँ। तर कतिपयलाई आफ्नो स्वार्थका लागि राष्ट्रिय सहमति खोज्यो भन्ने हुनसक्छ, तर त्यो होइन,’ उनले अघि भने, ‘म पहिलेदेखि नै राष्ट्रिय सहमतिको पक्षमा उभिएर आएको हुँ। देशलाई संकटबाट मुक्त गर्नु हामी सबैको कर्तव्य हुन जान्छ।’

उनले नेपाल भूराजनीतिक दबाबमा परेकाले त्यसबाट मुक्त पार्न सबै दल एकजुट हुनुपर्ने बताए। ‘भूराजनीतिक दबाबमा हाम्रो देश छ। नयाँ शीतयुद्ध हाम्रो आकाशमा मडारिरहेको छ। पहिले युरोपको आकाशमा मडारिरहेको थियो। त्यसबाट उनीहरू मुक्त भए। हामी यसबाट मुक्त हुन पनि सबै दल एकजुट हुन जरुरी छ,’ उनले भने।

नेता पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरूलाई यथाशीघ्र पूर्णता दिनुपर्ने र त्यसकालागि भए पनि दलहरूबीच राष्ट्रिय सहमति आवश्यक रहेको पनि बताए। ‘हाम्रो शान्ति प्रक्रिया अझै टुंगिएको छैन। यसलाई टुंगोमा पुर्‍याउनु हाम्रो कर्तव्य हो। शान्ति प्रक्रियाका जति पनि बाँकी काम छन्, द्वन्द्वका घाउहरू छन्, त्यहाँ हामीले मलम लगाउन सक्नुपर्छ,’ उनले भने।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्