गण्डकी प्रदेश सरकारले पायो पूर्णता



कास्की। गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरी कार्यविभाजन गरिएको छ। मुख्यमन्त्री खगराज अधिकारीले आज तीन मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार तथा यसअघि नियुक्त मन्त्रीको कार्यविभाजन गरेका हुन्।

नेकपा (एमाले) का दुई र नेकपा(माओवादी केन्द्र) का एक मन्त्री थपिएका हुन्। यससँगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री अधिकारीले नेकपा (एमाले) बाट रोशनबहादुर गाहा आन्तरिक मामिला तथा कानुनमन्त्री र बेदबहादुर गुरुङलाई कृषि, ऊर्जा र जलस्रोतमन्त्रीमा नियुक्त गरे।

यसैगरी माओवादीबाट रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्। यसअघि मन्त्री नियुक्त हुनुभएका माओवादीका हरिबहादुर चुमानले भौतिक, पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यसैगरी नेकपा(एमाले) का सीताकुमारी सुन्दास आर्थिक मामिला र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्यमन्त्री नियुक्त भएका छन्। नवनियुक्त मन्त्रीहरूले आज साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पद तथा गोपनीयताको शपथ लिए।

गण्डकीमा यसअघि १२ मन्त्रालय रहेकामा मन्त्रालय सङ्ख्या घटाएर सातमा झारिएको छ। मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन तोक्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा परामर्श गरेका थिए। अधिकारी गत पुस २५ गते गण्डकीको मुख्यमन्त्री नियुक्त भएका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्