टप फिचर

सदनलाई रचनात्मक र क्रियाशील बनाऔं : नेता पौडेल

By Thaha - Online

January 24, 2023

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले मुलुकका विद्यमान समस्या समाधान गर्न सरकार र संसद् सँगसँगै लैजानुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले सुशासन, आर्थिक अवस्था तथा जनताको जीवनस्तर सुधार गर्न सबै दल एक हुनुपर्ने बताए।

पछिल्लो समय मुलुकको आर्थिक अवस्था कमजोर बनिरहेको तथ्यांकले देखाएको जनाउँदै उनले भने, ‘पछिल्लो छ महिनामा १५ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ। पूरै बिग्रिसक्यो भनेर निराश नबनौँ, पूरै सप्रेको पनि छैन, सरकार र संसद्लाईसँगै जोडेर यी विषयको समाधान खोजिनुपर्छ।’

जनताको दैनिक समस्यालाई समाधान गर्ने दिशामा संसद्लाई लैजानुपर्नेमा जोड दिँदै उनले देशका समस्या समाधान गर्न प्राज्ञिक बहसको आवश्यकता औँल्याए। ‘सुशासनको प्रत्याभूति गराउन, छिपछिपे अर्थ प्रणालीलाई सुधार गर्न सहमति खोज्नुपर्छ,’ उनले भने।

जनताको घरघरमा लोकतन्त्र पुर्‍याउनुपर्ने सबैको दायित्व रहेको उनको भनाइ छ। संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘यो सदनलाई रचनात्मक र क्रियाशील बनाऔँ, त्यसमा सभामुख र उपसभामुखको भूमिका महत्त्वपूर्ण छ।’