सभामुख घिमिरेद्वारा रवि लामिछानेको सांसद पद खारेज भएको जानकारी



काठमाडौं। सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको प्रतिनिधिसभामा बैठकमा जानकारी गराएका छन्। सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यो पद रिक्त भएको छ। लामिछाने गत चुनावमा चितवन – २ बाट निर्वाचित भएका थिए।

सभामुख घिमिरेले भने– ‘सर्वोच्च अदालतको पत्रको चलानी नम्बर २७४०६, मुद्दा नम्बर ०७९ डब्ल्यु सी ००३५ को मिति २०७९ माघ १५ गते, युवराज पौडेल निवेदक भई दायर भएको रिट निवेदनबाट प्रतिनिधिसभा सदस्य भएका रवि लामिछानेले अमेरिकी नागरिकता विधिवत् त्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता प्राप्त गर्न प्रक्रिया पूरा नगरिएको हुँदा निजले प्रतिनिधि सभाको सदस्य रहन देखिन उपयुक्त नदेखिएकोले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार हुन उपयुक्त नदेखिएकोले उम्मेदवार भई निर्वाचित भएको देखिएकोले निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने काम नेपालको संविधानको धारा ३३ को उपधारा २, ३ र धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुन्छ भन्ने निर्णय गरेकोले नेपालको संविधानको धारा ८९ को खण्ड ख बमोजिम प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको कुरा प्रतिनिधिसभा नियमावली २०७५ नियम २१२ को उपनियम १ बमोजिम माननीय सदस्यहरूलाई जानकारी गराउँछु।’

चितवन-२ बाट निर्वाचित सांसदको पद गुमेसँगै निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन गराउनुपर्ने हुन्छ । ६ महिना भन्दा बढी कार्यकाल रहँदै सांसदको पद रिक्त हुन गएका उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ। प्रतिनिधिसभाको बैठक माघ २१ गते आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्