आजदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको लागि आचारसंहिता लागू



काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु गरेको छ। आयोगले आज देखि चैत ५ गतेसम्म कायम रहने गरी आचारसंहिता जारी गरेको छ।

आयोगको २०७९ माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। संवैधानिक व्यवस्थाअनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ।

स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई यही फागुन १३ गते उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता भइसकेको छ। मंगलबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ। राष्ट्रपतिको लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङ उम्मेदवार छन्।

उक्त निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको हो। उक्त आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड-७२, सङ्ख्या ३२ मा प्रकाशन भइसकेको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन आचार संहिता संघ र प्रदेशका मन्त्री, सरकारकी कर्मचारी, सुरक्षा निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्थालाई आचारसंहिता लागू हुनेछ। उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल, सञ्चार माध्यमका हकमा पनि आचार संहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्