प्रचण्डविरुद्ध रिटमा कारण देखाऊ आदेश जारी



काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रबार १५ दिनभित्र आफैँ उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश दिएको हो। इजलासले मुद्दालाई अग्राधिकार दिन भनेको छ।

रिट निवेदनमा उठाइएको विषयको महत्त्व,गम्भीरता तथा सम्वेदनशीलतातर्फ दृष्टिगत गर्दा प्रस्तुत विषयको निरूपण छिटो छरितो रुपमा गर्नु मनासिव देखिएकाले सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ (१) बमोजिम अग्राधिकार दिइएको आदेशमा भनिएको छ।

निवेदक ज्ञानेन्द्रराज आरणलगायतले रिट दायर गरेका थिए। तर, रिटमा माग भएबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। निवेदनमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिका आधारमा उनलाई पक्राउ गरेर ज्यान मुद्दाको कसुरमा कारबाही गर्न माग गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्