टप फिचर

वडाले सुरु गरेको सरसफाइ अभियान वडावासीको सहयोग अपरिहार्य : वडाध्यक्ष चौधरी

By Thaha - Online

March 14, 2023

कृष्णनगर, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ७ गणेशपुरले सरसफाइ सामग्री वितरण गरेको छ । वडाले सरसफाइ जोड दिँदै आम नागरिकमा जनचेतना अभिवृद्धि गर्न कार्यक्रमलाई तीव्रता दिएको छ । मंगलबार युवा तथा बाल क्लबका सदस्यहरूलाई त्रैमासिक रूपमा सरसफाई अभियान सञ्चालनको लागि वडा अध्यक्ष दिनेश कुमार चौधरीले सरसफाइ सामग्री वितरण गरेका हुन् । सरसफाइ सामग्री वितरण कार्यक्रममा सहभागीहरूलाई अभिमुखीकरणसमेत गरिएको थियो ।

वडा अध्यक्ष चौधरीले सामग्री हस्तान्तरण गर्दै व्यक्ति र घर मात्र सफा भएर नहुने भन्दै टोल, बाटो र पार्कहरू पनि सफा राख्नुपर्ने सबैको जिम्मेवारी रहेको बताए । उनले वडा कार्यालयले संघसंस्थाहरुलाई जिम्मेवार बनाउन सरसफाइ सामग्री वितरण गरेको बताए । सरसफाइ सामग्रीको संरक्षण गर्दै त्रैमासिक रूपमा टोल सरसफाइ गर्दै जनचेतनामूलक कार्य गर्न टोलवासीलाई आग्रहसमेत गरे । वडाले सुरु गरेको सरसफाइ अभियान अन्तर्गत पहिलो चरणमा मुख्य सडकहरू र अन्य चरणहरूमा भित्री सडक, मठमन्दिर, पाटी पौवा सरसफाइ गरिने अध्यक्ष चौधरीले बताएका छन् ।

सो अवसरमा बोल्दै विजयनगर खानेपानी तथा सरसफाइ संयोजक अर्जुन बेल्वासेले उक्त अभियान अन्तर्गत फोहोरलाई स्थानीय आ–आफैले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा ट्याक्टर ट्राली जस्ता सामग्री बाटोमा राख्न रोक लगाउने, सबैको घरमा अनिवार्य शौचालय निर्माण गर्ने तथा वातावरण दूषित पार्ने काम गरेमा घरधनीलाई नियमानुसार कारबाही गरिने बताए   ।

साथै वैशाख भित्र वडालाई प्लास्टिक मुक्त, सुर्तीजन्य पदार्थ सेवन गर्नु रोक लगाउने, छाडा कुकुरहरू बन्ध्याकरण गर्ने योजना रहेको चौधरीले बताउनुभयो । वडाले किराना पसल, होटलहरुलाई सफा राख्न डस्विन लगायतका सामग्रीहरू वितरण गरिएको थियो ।