Banner Second

नागरिकका आवश्यकता केन्द्रित बजेट बनाउन काँग्रेसको जोड

By Thaha - Online

April 24, 2023

काठमाडौं। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न सुझाव दिएका छन्।

काँग्रेस संसदीय दलको आज बसेको बैठकमा उनले मुलुकको विषम आर्थिक परिस्थितिमा आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा पार्टीका तर्फबाट सुझाव दिन सांसदहरूलाई आग्रह गरेका थिए। नागरिकका आवश्यकता सम्बोधन हुने गरी आगामी बजेट निर्माण हुनुपर्ने उनको भनाइ थियो।

बैठकमा अर्थमन्त्री एवं पार्टीका नेता डा प्रकाशशरण महतले विषम आर्थिक अवस्थालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट बनाइने जानकारी गराएको राष्ट्रिय सभामा काँग्रेसका प्रमुख सचेतक अनिता देवकोटाले बताइन्। मन्त्री डा महतले आगामी बजेटमा राख्नुपर्ने प्राथमिकताका बारेमा सांसदहरूको सुझावका लागि आग्रह गरेका थिए।

उनले सांसदहरूले राखेका जिज्ञासाका बारेमा टिपोट गरेको र मंगलबारको बैठकमा जवाफ दिने बताइएको छ। सांसदहरूले सुझाव दिने क्रम बाँकी रहेकाले काँग्रेस संसदीय दलको बैठक भोलि बिहान १०ः३० बजे पुनः बस्ने प्रमुख सचेतक देवकोटाले जानकारी दिइन्।