दर्ता विना आफ्नै घरमा अवैध प्रसूति सेवा सञ्चालन



कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा विना दर्ता अवैध रूपमा प्रसूति सेवा सञ्चालन गरिएको छ । शिवराज नगरपालिका विरपुर स्वास्थ्य चौकीमा कार्यरत अनमी पुनम पोख्रेलले आफ्नै घरमा नागरिकको स्वास्थ्य माथि खेलबाड गर्दै मापदण्ड विपरीत प्रसूति सेवा सञ्चालन गरेको जनगुनासो आएको छ । 

पहिलो निर्वाचनमा शिवराज नगरपालिकाको स्वतन्त्र उपमेयर पदका उम्मेदवार र दोस्रो निर्वाचनमा नेपाली काँग्रेसबाट शिवराज नगरपालिका वडा न ५ का वडा अध्यक्ष पदका उम्मेदवार भएर हार बेहोरेका हरि पोखरेलको संरक्षणमा पत्नी पुनम पोखरेलले यस्तो काम गर्दै आएकी हुन । नेपाली काँग्रेसको प्रभावशाली नेता पोखरेलको राजनैतिक आडमा विगत वर्ष देखि विना दर्ता अवैध रूपमा प्रसूति सेवा सञ्चालन गरेकी हुन । राजनैतिक पहुँचको भरमा सञ्चालन गरेको प्रसूति सेवाको कसैले विरोध गर्न सकेका छैनन् । सामाजिक सञ्जालमा सक्रिय पोखरेल अरूलाई उपदेश दिने गरे पनि आफ्नो संरक्षणमा विगत वर्षदेखि विना दर्ता अवैध रूपमा प्रसूति सेवा सञ्चालन गरिरहेका छन् । 

निस्वार्थ सेवा गर्ने स्वास्थ्य कर्मचारी हुनुपर्ने पुनम पोखरेलले गर्भवती महिलाहरूलाई आफ्नो घरमा प्रसूति गराउन दबाब दिने र मोटो रकम असुल्दै आएकी छिन । आफ्नो घरमा प्रसूति गराउन आउने महिलालाई आक्सीटोसिन इन्जेक्सन दिने गरेकोले महिलाहरूलाई स्वास्थ्यमा समस्या देखिएको छ । उक्त औषधि डब्लु एच ओ को मापदण्ड अनुसार प्रयोग नगरी जथाभाबी प्रयोग गर्नाले महिला स्वास्थ्यमा गम्भीर खेलबाड गरेको देखिन्छ ।

स्वास्थ्य चौकी विरपुरमा २४ घण्टे प्रसूति सेवा सञ्चालन भए पनि आफ्नो घरबाट विना दर्ता सेवा सञ्चालन गरिएको हो । यसबारे शिवराज नगरपालिका स्वास्थ्य शाखामा बुझ्दा नगरपालिकामा पटक पटक यस्तो गुनासो आएपछि सेवा सञ्चालन नगर्न वा दर्ता प्रक्रिया पुरा गर्न बारम्बार सुझाव दिँदा पनि बेवास्ता गरेको शाखा प्रमुख चूडामणि भट्टराईले बताए । आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ ले घरमा हुने प्रसूति कार्य शून्यमा ल्याउने नीति अवलम्बन गरेको छ ।साभार मायादेवी अनलाइन डटकम।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्