रेशम चौधरीलाई सर्बोच्चबाट पनि जन्मकैदको फैसला



काठमाडौँ — कैलालीको टिकापुर घटनामा संलग्न रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट जन्मकैदको सजाय पाएका रेशमलाल चौधरीको जन्मकैद सजाय सर्वोच्च अदालतले पनि सदर गरेको छ ।

सर्वोच्चको यो आदेशसँगै चौधरीले जन्मकैद पाएका छन् । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीको हकमा जिल्ला र उच्च अदालतले तोकेको जन्मकैदको सजाय सदर गरेको हो ।

सोही मुद्दाका आरोपी सिताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाएका छन् । सिताराम र गंगाराम जिल्ला र उच्च अदालतको आदेशअनुसार जन्मकैद भुक्तानका लागि जेलमै रहेका थिए । उनीहरुलाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश छ । जिल्ला अदालतले ठहर गरेबमोजिम तीन वर्षको कैद भुक्तान गरिसकेका लक्ष्मण थारुलाई उच्च अदालतले जन्मकैद तोकेकोमा सर्वोच्चले जिल्लाकै फैसला सदर गरेको हो । थारुले थप जेल बस्नु पर्दैन संविधान जारी हुनुभन्दा अघि २०७२ भदौ ७ मा टीकापुर हिंसा भड्किएको थियो। एक नाबालकसहित ८ जना प्रहरीको ज्यान जाने गरी भएको उक्त हिंसात्मक झडपको नेतृत्व गरेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएका थिए। अदालतको फैसलापछि पूर्वसांसद समेत रहेका चौधरी अहिले डिल्लीबजार कारागारमा छन्।

कारागारबाट उनले खोलेको नयाँ पार्टीले गत संसदीय चुनावमा ४ सिट जितेको छ। उनकी श्रीमती रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था, सहाकारी तथा गरिबी निवारण मन्त्री छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्