कानुनमन्त्री गुरुङले चिनजान र नातेदार छोडेर दलितलाई बनाए मन्त्री क्वार्टरको भान्से



 

 काठमाडौं । मन्त्री भएपछि पार्टी नजिक, चिनजान र आफन्तहरूलाई प्राथमिकता दिने प्रचलन नेपालमा कायमै छ । अझ मन्त्रीमा नियुक्त भएपछि बन्ने निजी र सरकारी सचिवालयमा आफन्त, नातागोता र चिनजान भित्रलाई बढी प्राथमिकता दिएर आवश्यक संख्याभन्दा पनि धेरै व्यक्तिलाई जागिर दिने प्रचलन छ । प्रायः गरी सबै मन्त्रिपरिषदका सदस्यहरूको सचिवालयमा आफन्तजनकै बाहुल्यता अहिले पनि छ । प्रेस सल्लाहकार वा संयोजकमा समेत जाने बुझेको भन्दा निकटता र आफन्तलाई नियुक्ति दिन थालिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफ्नो सचिवालयमा छोरी गंगा दाहाललाई सचिवका रुपमा नियुक्त गरेका छन् । अन्य मन्त्रीहरूले पनि आफ्नै प्रायः भाई भतिजालाई नै मौका दिइएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले त प्रधानमन्त्री प्रचण्डले भाई, भतिजा र छोरोछोरीलाई मात्र अवसर दिने गरेको भन्दै पटक पटक आलोचना पनि गर्दै आएका छन् । यस्तो आफन्त रोज्ने भीडमा यस पटक कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भने दलित माथिको भेदभाव र छुवाछुत अन्त्यका लागि भन्दै कुनै चिनजान नभएका दलित समुदायका एक युवालाई मन्त्री क्वार्टरको भान्सेमा नियुक्त गरेका छन् ।

 

मन्त्री गुरुङले सुनसरी बराह क्षेत्रका शंकर परियारलाई मन्त्री क्वाटरको भान्सेमा नियुक्त गरेका हुन् । परियार गरिब परिवारका हुन् । ८ कक्षा मात्र पास गरेका उनी यसअघि म्यादी प्रहरीमा पनि भर्ना भएका थिए । म्यादीको जागिर सकिएपछि रोजगारीका लागि भौतारिइरहेका थिए । उनको परिवारमा बुबा र भाई मात्र छन् । मन्त्री क्वार्टरको लागि भान्से खोजी हुन थालेपछि भान्सेका लागि नजिकका र आफन्तहरुले मान्छे सिफारिस गर्न थाले । तर, मन्त्री गुरुङले आफन्तले सिफारिस गरेका भन्दा स्वकीय सचिवलाई दलित समुदाय र गरिब परिवारको मान्छे खोज्न लगाए । खोज्दै जाँदा शंकर परियार भेटिए र उनैलाई भान्सेमा नियुक्त गरे ।

आइतबार साँझ नेपालबहसकाे टाेलीले मन्त्री गुरुङलाई शुभकामना दिने क्रममा मन्त्री क्वार्टर पुग्दा आफन्त वा नजिकका हुनुपर्छ, उनीहरू गुनासो गर्दै थिए । ‘ मन्त्रीलाई एउटा बैनी छ भान्से भए पनि राखिदिनु न भन्दा मानेनन् । कहाँको दलितलाई ल्याएर राखेछन । यस्ताले हामीले भनेको काम के गर्लान र ?’ । बाहिर भान्से दलित भएको कुरामा छलफल भइरहेको विषय हामीले पनि भित्र मन्त्री गुरुङसँग कुराकानी हुने क्रममा राख्यौं । उनले भने,‘ म धेरै अगाडि देखि नै छुवाछुत प्रथाको विरोधी मान्छे हुँ । म मन्त्री भएर आएपछि पनि दलितमाथि हुने भेदभाव र छुवाछुत विरुद्धको अभियानलाई अगाडि बढाउँछु भन्ने सोचलाई कार्यान्वयन गर्न मात्र खोजेको हुँ ।’

 

 

मन्त्री गुरुङले दलितलाई भान्से बनाएको बारे आफूलाई पनि गुनासो आएको बताए । यो समाज रुपान्तरणका लागि धेरै प्रयास गर्दा पनि नसकिएको उनको भनाइ थियो । उनले आफू बाहिर जाँदा पनि भरसक दलित समुदायका भान्छामा नै  भात खान खोज्ने गरेको बताए । उनले भने, ‘म राजनीतिक कर्मी हुँ । मलाई धेरैले चिन्नु पनि हुन्छ । म जत्तिको मान्छेले दलितसँगै बसेर वा उनीहरूको घरभित्र पसेर पानी मात्रै खाँदा भेदभाव र छुवाछुत अन्त्यका लागि समाजमा एक खालको म्यासेज पनि जान्छ भन्ने मलाइ लाग्छ ।’

मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीका अनुसार मन्त्री भएपछि चितवनको कार्यक्रममा जाँदा पनि उनले दलितकै घर खोजेर खाना बनाउन लगाएका थिए । मन्त्रीका लागि भीआईपी खानाको व्यवस्था थियो । तर, उनी त्यसमा नबसेर चितवन स्थित भरतपुर महानगरपालिका १७ का धन बहादुर बिकको घरमा खाना खाएका थिए । दलितमाथिको भेदभाव र छुवाछुत अन्त्य हुनु पर्छ भन्ने धारणा राखेर नै आफ्नो भान्सेपनि दलितलाई नै बनाएको मन्त्री गुरुङको भनाइ छ ।

साभार -नेपाल बहसबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्