सङ्घीय संसद्को संयुक्त बैठक आज, यस्तो छ कार्यसूची



काठमाडौं। सङ्घीय संसद्को संयुक्त बैठक आज बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित हुने सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए।

त्यसैगरी बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले सङ्घीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ। आजै दिउँसो एक बजे संसद्को नियमित बैठक पनि बस्दैछ। सो बैठकमा अथ मन्त्री डा प्रकाशशरण महतले “आर्थिक वर्ष २०७९–०८० को आर्थिक सर्वेक्षण” पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रतिनिधि सभाले शनिबार नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने सरकारले बजेटको तयारी पनि गरिरहेको छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। यसैबीच राष्ट्रिय सभा बैठक पनि बस्दैछ। राष्ट्रिय सभाको बैठक पनि दिउँसो १ बजेर बस्ने संसद सचिवालयले जानकारी दिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्