टप फिचर

अन्तरजातीय विवाह गरेकाे चार दिनपछि ‘केटाकाे घरमा दन्कियाे आगाे’

By Thaha - Online

July 02, 2023

तातोपानी–४ गिडीखाेलाका मुकुन्द नेपालीले स्थानीय बसन्ती गिरीसँग भागेर गएको साता बिहे गरे।

२० वर्षीय मुकुन्दले उमेर नखुलेकी उनै युवती बसन्तीसँग प्रेमपछि अन्तरजातीय विवाह गरेको स्थानीयहरू बताउँछन्।

केटी पक्षले भनेअनुसार हाल उनीहरू बाँके जिल्लामा छन्। बसन्तीले मुकुन्दसँग भागेर घरजम गरे लगतै आफूहरू बाँके आएको आफन्तलाई फोनमा भनेको बुझिएको छ।

मुकुन्द र बसन्तीले अन्तरजातीय विवाह गरेको चार दिन पछि ‘दलित केटा’काे घरमा एक्कासि आगो लागेको मुकुन्दका माइला दाइ भरत नेपालीले बताएका छन्।

‘भाइले अन्तारजातीय बिहे गर्नु र त्यसकाे चार दिन पछि आगाे लाग्नु संयाेग नभएर याेजना हाे,’ उनले भने, ‘याे काम केटी पक्षका दाइले गराएकाे भनी किटानी दिने तयारी गरेका छाैँ।’

तीन तलाकाे घर जलेर पूरै नष्ट भएकाे हाँकु प्रहरी चाैकीका इन्चार्ज राजेन्द्र गिरीले बताएका छन्।

‘घर आगलागी भएकाे कुरा जिल्ला प्रहरी कार्यालयबाट आएपछि हामी यहाँ पुगेका हाैँ,’ उनले भने, ‘क्षतिकाे विवरण निकाल्दैछाैँ। घटनाका अनुसन्धान भइरहेकाे।’