टप फिचर

पार्टीमा गुटबन्दीको होइन, विचारको राजनीति गर्नुपर्छ : नेता डा कोइराला

By Thaha - Online

March 07, 2024

मोरङ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शशांक कोइरालाले पार्टी नेतृत्वले महिलालाई सम्मानजनक स्थान र अवसर दिनुपर्नेमा जोड दिएका छन्।

नेपाली काँग्रेस मोरङ क्षेत्र नं ४ द्वारा आज जिल्ला पार्टी कार्यालय विराटनगरमा आयोजित ‘ नेपाली काँग्रेस र अबको बाटो’ विषयमा भएको छलफलमा उनले सबै क्षेत्रमा महिलालाई पुरुष बराबर अवसर दिएर पार्टीप्रति आकर्षित गर्नुपर्छ भने।

नेता कोइरालाले पार्टीमा गुटबन्दीको होइन विचारको राजनीति गर्नुपर्छ भने। उनले क्षेत्र, जिल्ला र पालिकालाई अधिकार दिन पार्टीको विधान संशोधन गर्नुपर्ने बताए। आगामी निर्वाचनमा नेकाले कसैसँग गठबन्धन गर्न नहुने बताए।

संघीय सांसद सुनिल शर्माले पार्टीले क्रियाशील सदस्यहरूको बहुमतका आधारमा टिकट वितरण गर्नुपर्ने बताउँदै २०८४ को निर्वाचनका निम्ति आजैदेखि लाग्नुपर्नेमा जोड दिए। कोशी प्रदेश सभाका सदस्य अमृत अर्याल र पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले अबको बाटो चुनौतीपूर्ण रहेकाले जनताका समस्या समाधानमा पार्टी लाग्नु पर्ने सुझाव दिए।