टप फिचर

निर्वाचन प्रणालीमा सुधार जरुरी छ : नेत्री सङ्ग्रौला

By Thaha - Online

March 17, 2024

महोत्तरी। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले वर्तमान निर्वाचन प्रणालीमा सुधार जरुरी भएको धारणा राखेकी छन्। आज महोत्तरीको बर्दिबासमा नेपाली काँग्रेस बर्दिबास नगर समितिले आयोजना गरेको पत्रकार भेटघाटमा उनले निर्वाचनमा बढेको विकृति अन्त्यका लागि निर्वाचन प्रणालीमा तत्काल सुधारका लागि संविधान संशोधनको आवश्यकता औँल्याइन्।

अहिलेको निर्वाचन प्रणालीले स्थायी सरकार दिन नसक्ने भन्दै उनले चुनावमा बढेको विकृति निस्तेज गर्न र प्रतिस्पर्धालाई विचार र निष्ठासँग बाँध्न अपर्याप्त देखिएको हुँदा यसमा संशोधनको आवश्यकता रहेको उल्लेख गरिन्। नेपाली काँग्रेसमा निर्वाचन प्रणाली सुधार र शासकीय स्वरुपलगायतका विषयमा बहस सुरु भएको सङ्ग्रौलाले बताइन्।

राजनीतिक दलहरूले भ्रष्टाचार अन्त्य र सुशासन प्रवर्द्धनका कुरा गरे पनि यसलाई कार्यान्वयन गर्नेतिर सुदृढ इच्छाशक्ति देखाउन नसकेका उनको भनाइ थियो। पछिल्ला केही वर्षयता सरकार बन्ने, ढल्ने अस्थिर प्रक्रियाले जनतामा झन् बढी निराशा बढेको उनले उल्लेख गरिन्। मुलुकमा बढेको अस्थिरताको सम्बोधन नेपाली काँग्रेसले मात्र गर्न सक्ने उनको दाबी छ।

सङ्ग्रौलाले भनिन्, ‘हामी यो पद्धतिलाई आत्मसात् गरेर मुलुकको समृद्धि र सुदृढ सरकार दिन अघि बढेका छौं।’ आगामी निर्वाचनमा जनताको साथले काँग्रेस यो अभिभारा पूरा गर्ने जिम्मेवारीसाथ संगठन सुदृढीकरणमा लागेको उनको भनाइ छ।