कतार र उत्तरकोरियाका राजदूतले सभामुख महरालाई भेटे



सैघाली खबर 

काठमाडौं  ४ चैत,  सभामुख महरासँग कतार र उत्तरकोरियाका राजदूतको भेटवार्तासम्माननीय सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि कतार र उत्तर कोरियाका राजदूतले शिष्टाचार भेट गर्नुभएको छ । आज (आइतबार) सभामुखको कार्यालय सिंहदरबारमा कतारका राजदूत युसुफ बिन मोहम्मद अल र उत्तर कोरियाका राजदूत चोय तेइ पोकले छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो ।

सभामुख महराले दुवै राजदूतहरुसँगको भेटमा संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदबीच फ्रेन्डसीप ग्रुप स्थापना गर्ने बारेमा पहल बढाउनुपर्ने बताउनु भयो । भेटघाटका क्रममा दुवै देशका राजदूतले सभामुख पदमा निर्वाचित भएकोमा सभामुख कृष्णबहादुर महरालाई बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो ।सभामुखसँगको भेटमा कतारका राजदूत युसुफ बिन मोहम्मद अलले नेपाल र कतारको सम्बन्ध राम्रो रहेको भन्दै आगामी दिनमा अझै सम्बन्ध बिस्तार गरेर लैजाने बताउनुभएको थियो ।

 

सो अवसरमा सभामुख महराले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन संसदबीच फ्रेन्डसीप ग्रुप स्थापना गर्नेतर्फ पहल बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।उहाँले कतारमा अहिले चार लाख बढी नेपाली कामदारहरु रहेको भन्दै उनीहरुको रोजगारीको सुनिश्चिता र सुरक्षाका बारेमा चासो व्यक्त गर्नुभएको थियो ।

त्यस्तै छुट्टै भेटमा सभामुख महराले उत्तर कोरियाका राजदूत चोय तेइ पोकसँगको भेटमा प्रजातान्त्रिक कोरिया र नेपालको सम्बन्ध थप सुदृढ होस् भन्ने चाहेको बताउनुभयो ।पछिल्लो समय वार्ताका माध्यामबाट दक्षिण कोरियासँगको सम्बन्ध सुध्रिदै गएकोमा खुसी व्यक्त गर्दै सभामुख महराले शान्तिका लागि भइरहेको प्रयास सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा उत्तर कोरियाका राजदूत चोय तेइ पोकले सभामुखमा निर्वाचित हुनुभएकोमा बधाई व्यक्त गर्दै उत्तर कोरियाको सुप्रिम एसेम्बलीका अध्यक्षको पनि बधाई सन्देश सुनाउनुभएको थियो ।साथै उहाँले शान्तिका लागि उत्तरकोरियाले स्वतन्त्रता र अधिकारको ग्यारेन्टीसहित बाह्य हस्तक्षेपबीच दुई कोरियाको एकीकरण चाहेको बताउनुभयो ।

भेटवार्ताको अवसरमा पोकले सभामुख महरालाई उत्तरकोरिया भ्रमणका लागि आग्रह गर्नुभएको थियो ।

जवाफमा सभामुख महराले आफू ९ वर्षअघि सञ्चारमन्त्री हुँदा प्योङयाङ पुगेको स्मरण गर्दै फेरि पनि उत्तर कोरियाको भ्रमण गर्न आफू इच्छुक रहेको र अनुकूलता हेरेर सभामुखको कार्यकालमै प्योङयाङ पुग्ने बताउनुभयो ।‘म उत्तरकोरियाको भ्रमण गर्न इच्छुक छु, अनुकूलता हेरेर सभामुखकै कार्यकालमा भ्रमण गर्नेछु, उहाँले भन्नुभयो, ‘त्यहाँ पुगेर किम इल सुङको घर, जंगलभित्रको म्यूजियम र उत्तरकोरियाको विकास अवलोकन गर्ने चाहना छ ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्