काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ। सिंहदरबारमा आइतबार बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले प्रस्ताव गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री ओलीले आइतबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ। प्रतिनिधिसभा बैठकको अघि बसेको दलको बैठकले बलियो प्रतिपक्षको भूमिकामा निर्वाह गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। ‘अब हामी प्रतिपक्षमा रहन्छौं। हामी प्रतिपक्षको जिम्मेवार भूमिका निभाउँछौं,’ परियारले भने, ‘हामी सशक्त रुपमा जनताको पक्षमा आवाज उठाउँछौं।’
त्यसैगरी सो दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन पनि पार्टीका सांसदहरूलाई ह्वीप जारी गरेको छ। प्रमुख सचेतक परियारले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मत जो माग्नुभएको छ। त्यसमा पार्टीका सबै सांसदहरूले घनीभूत छलफल गरेर सो प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्यौं। र ह्वीप पनि जारी गरी सकेका छौं।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।