काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले उद्योगहरूको बिजुली प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले झुटो बोलेको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा सांसद दाहालले यस्तो आरोप लगाएका हुन्।
सांसद दाहालले विद्युत् महसुल नतिर्ने तर अकुत मुनाफा कमाउने ६१ वटा उद्योगले २२ अर्ब २६ करोड तिर्नुपर्ने भएपनि प्रधानमन्त्रीले बिचौलियाको प्रभावमा परेर विद्युत् लाइन जोड्न निर्देशन दिएको बताए।
पहिलो अवधि र पछिल्लो अवधिको १४ अर्ब रुपैयाँ महसुलबारे अदालतमा मुद्दा विचारधीन रहेको उनले बताए। बाँकी ८ अर्ब २६ करोडको मुद्दामा जिल्ला अदालत र उच्च अदालतले असुलउपर गर्ने आदेश दिइसकेको उनले बताए। दाहालले संसद्को सार्वजनिक लेखा समितिले पनि असुलउपर गर्न आदेश दिएको बताए।
‘महालेखाको प्रतिवेदन, लाल आयोगको प्रतिवेदनको आधारमा तत्कालीन मन्त्रिपरिषद्ले ८ अर्ब २६ करोड उठाउने निर्णय गरिसकेको छ’, उनले भने, ‘यसैको जगमा विद्युत् प्राधिकरणले लिखित पत्र पटक-पटक दिँदा पनि विद्युत् महसुल तिर्न अस्वीकार गरेपछि लाइन काटिएको छ।’ सांसद दाहालले बिचौलियाको प्रभावमा विद्युत् लाइन जोड्ने र मिनाहा गर्ने प्रधानमन्त्रीले घोषणा गरेकोमा आपत्ति जनाए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।