दाङ । महुवा वाइन एण्ड बेभरेजेस प्रा.लि.ले ‘महुवा अभियान २०२४’ अन्तर्गत १,००० वटा महुवाको बिरुवा रोप्ने लक्ष्य सफलतापूर्वक पूरा गरेको छ । तुलसीपुर उपमहानगरपालिका-१३, अम्बापुर, फूलबारीमा अवस्थित अम्बेश्वरी महिला सामुदायिक वनमा महुवाको बिरुवा रोपिएको हो ।
अभियन्ता सन्देश चौधरीको नेतृत्वमा सुरु गरिएको यस अभियानले सामुदायिक वन (सीएफ) को आर्थिक र वित्तीय विकासलाई बढवा दिने उद्देश्य राखेको छ । यस अभियानले स्थानीय समुदायलाई वन व्यवस्थापनमा संलग्न गराउने सकारात्मक प्रयासको थालनी भएको छ ।
महुवा अभियान २०२४ केवल बिरुवा रोपणसम्म सीमित छैन । यसले महिला, आदिवासी, दलित, उपेक्षामा परेका समूह र अन्य सीएफ प्रयोगकर्ताहरूलाई वन व्यवस्थापन गतिविधिहरूमा संलग्न गराएर सशक्त बनाउने लक्ष्य राखेको अभियन्ता चौधरीले बताए । “हामीहरूले वन सफा गर्ने, छाँट्ने, काट्ने, बिरुवाहरूको लागि खाल्डा खन्ने जस्ता कामहरू गरेका छौँ । वन स्रोतहरू बढाएर र आयमूलक गतिविधिहरूलाई प्रवर्द्धन गरेर समुदायको आर्थिक समृद्धिलाई बढवा दिनु यस अभियान मूल उद्देश्य हो”, उनले भने ।
अभियन्ता चौधरीले आवश्यक तयारीहरूको लागि घोराहीस्थित डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठ सँग नजिकबाट समन्वय गरेका थिए । बाँकेस्थित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नवराज शाही र लमही, दाङका चिरञ्जीवी खनालले महुवाका बिरुवाहरू उपलब्ध गराएका थिए । दाङमा महुवा बिरुवाको उच्च माग भएकोले, बाँकेस्थित वन डिभिजन कार्यालयबाट थप सहयोगको अनुरोध गरिएको थियो । यसरी, बाँके र दाङका डिभिजन वन कार्यालयहरूले १,००० थान महुवा बिरुवाहरूको आपूर्ति गरिएको हो ।
अभियन्ता चौधरी पहिलो वर्षको लक्ष्य सफलतापूर्वक पूरा भएकोमा सन्तुष्टि व्यक्त गरेका छन् र २०२५ का लागि २,००० महुवा बिरुवा रोप्ने महत्त्वाकाङ्क्षी योजना घोषणा गरेका छन् । यस कार्यमा महुवा वाइन एण्ड बेभरेजेस प्रा.लि.ले नियमित रूपमा निगरानी र व्यवस्थापन गर्ने उनले बताए ।
अम्बेश्वरी महिला सामुदायिक वनको अध्यक्ष विमला शर्माले यस अभियानमा महत्त्वपूर्ण साझेदार बन्न पाउँदा खुसी लागेको बताइन् । “ ६.३ हेक्टर क्षेत्रफल रहेको यस वनले यस अभियान अन्तर्गत १ हेक्टर खाली जमिनमा ५०० महुवा बिरुवा रोपण गरिसकेको छ भने बाँकी क्षेत्रलाई खयर, सिसौ, र अन्य फलफूलका बिरुवाहरूको लागि छुट्याइएको छ”, उनले भनिन् ।
महिलाहरूको समूहद्वारा व्यवस्थापन गरिएको अम्बेश्वरी महिला सामुदायिक वनमा ८० घरधुरी र २०० जनसङ्ख्या रहेका छन्, जसले महिलाहरूको नेतृत्वमा वन व्यवस्थापनको बलियो मोडल प्रस्तुत गर्दै आइरहेको छ ।
अभियन्ता चौधरीसँगको सहकार्यमा, अध्यक्ष शर्माले डिभिजन वन कार्यालय घोराहीसँग सहयोगको लागि सम्झौता गरेकी हुन् । यसमा छाँट्ने, काट्ने, र खाल्डा खन्ने कार्यका लागि आर्थिक सहयोग र १,२०० खयर र सिसौ बिरुवा रोपण कार्य समावेश छ। बिरुवा रोपण गतिविधिलाई सीएफ प्रयोगकर्ता, स्थानीय समुदाय सदस्य र अम्बापुर, फूलबारीका नेपाल सेना बलले समर्थन गरेका हुन् ।
२०५१ सालमा स्थापना भएको अम्बेश्वरी महिला सामुदायिक वनले दर्ता प्रमाणपत्रको अभाव र नेपालको गृहयुद्धका क्रममा धेरै चुनौतीहरूको सामना गरेको थियो । तर विभिन्न सङ्घसंस्था र नेपाल सेनाको समर्थनले गर्दा यो वनलाई २०७६ सालमा सफलतापूर्वक व्यवस्थापन र दर्ता गरिएको छ । हाल यस सामुदायिक वन हरियाली र विकसित रूखहरू सहित फस्टाउँदै छ। र भविष्यमा यसलाई पिकनिक र हरित पार्क क्षेत्रहरूसहितको पर्यटन स्थलमा विकास गर्ने योजना रहेको छ ।
अध्यक्ष विमला शर्माले अभियन्ता चौधरी र महुवा वाइन एण्ड बेभरेजेस प्रा.लि.लाई समर्थनका लागि आभार व्यक्त गरेकी छन् । उनले सामुदायिक वनको दिगो व्यवस्थापन सुनिश्चित गर्न निरन्तर प्राविधिक र वित्तीय सहयोगको आवश्यकता समेत औँल्याएकी छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।