काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचनाको हकलाई फराकिलो र सहज बनाउन नीतिगत परिमार्जन आवश्यक रहेको बताएका छन्। राष्ट्रिय सूचना आयोगको ‘१८औँ राष्ट्रिय सूचना दिवसको अवसर’मा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
मन्त्री गुरुङले वर्ष दिनको कार्य योजना बनाएर पुराना ऐन र नीतिलाई संशोधन गर्न सुरु गरेको जानकारी दिँदै आमसञ्चार विधेयक निर्माणका क्रममा रहेको र मिडिया काउन्सिल ऐन अन्तिम चरणमा पुगेको बताए।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले नागरिक शासन पद्धतिमा सूचनाको हक अर्थपूर्ण रहने बताउँदै यसको दायरालाई राज्यले व्यापक र फराकिलो बनाउनुपर्ने बताए। सूचनाको हक १८ वर्षका बीचमा कति प्रभावकारी भयो भन्ने गुणात्मक समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राज्यले क्षेत्राधिकार साँघुर्याउँदै गएकामा चिन्ता व्यक्त गरे।
‘सात सय ५३ स्थानीय तहमा अधिकांश तहमा सूचना अधिकारी तोकेका छौं,’ उनले भने, ‘लगभग ९५ प्रतिशत सूचना अधिकारी तोकेको अवस्था छ। यसको अर्थ सूचनाको हक पूरै कार्यान्वयन भयो या भएन भन्ने थाहा पाउन अनुगमन नै गर्नुपर्छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।