काठमाडौं। लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन्। प्रतिबन्धित औषधि (लागुऔषध) कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले श्रेष्ठलाई बिहीबार पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालक ४८ वर्षीय श्रेष्ठलाई बिहीबार पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ। गत साउन ३ गते पोखरा-२ बसपार्कबाट ४२ वर्षीय प्रकाश थापामगर लागूऔषध त्रुपेन ९७ चक्कीसहित पक्राउ परेका थिए। त्यसको अनुसन्धानका क्रममा थापामगरले उक्त लागूऔषध दिया फार्मेसीबाट खरिद गरेको बताएका थिए।
सोही आधारमा जिल्ला अदालतबाट अनुमति लिई फार्मेसी सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख मोहन थापाले बताए। रास्वपाबाट समानुपातिक सांसद बनेका श्रेष्ठ आर्थिक लेनदेनको विवादमा परेपछि पार्टीले निष्कासन गरेको थियो। थापामगर रोल्पाको त्रिवेणी गाउँपालिका-७ घर भई हाल पोखरा-४ नालामुख बस्दै आएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।