न्यायालय सिध्याउन खोज्ने माफियाहरुको नाम सार्वजनिक गर्छु ःगोपाल पराजुली



काठमाण्डौ/५ चैत

निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायालय सिध्याउन खोज्ने माफियाहरुको नाम सार्वजनिक गर्ने बताएका छन ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘धमलाको हमला’मा पराजुलीले न्यायालयलाई सिध्याउन खोज्ने माफियाहरुको नाम छिट्टै सार्वजनिक गर्ने बताए ।

कार्यक्रममा उनले भने, ‘म सुरक्षित छु भन्ने महसूस गरेको अनुभूति भएपछि मात्र म ती माफियाहरूको नाम सार्वजनिक गर्छु । म अहिले सुरक्षित छु जस्तो लाग्दैन । त्यसैले एक वर्षभित्र आत्मवृतान्त लेखेर सबैको नाम सार्वजनिक गर्नेछु ।’

पराजुलीको भर्खरै आएको राजीनामाको प्रसंगलार्इ कोट्याउँदै प्रस्तोता धमलाले गरेको प्रश्नको जवाफमा उनले आफूले कसैको दबावमा नभर्इ स्वेच्छाले राजीनामा दिएको बताए । संस्कृतमा प्रचलित उक्तिको चर्चा गर्दै उनले भने, “जुन घरमा सर्प बस्न पल्केको छ, जुन घरमा अनुशासन छैन, साथी षड्यन्त्रकारी छन् र सहयोगी मान्छे असहयोगी बनिरहेछन्, त्यो घरमा बसिरहनु हुँदैन भन्ने मान्यताले राजीनामा दिएको हुँ ।”

पराजुलीले नकारात्मक सोच भएका व्यक्तिहरुले भीड जम्मा पारेर न्यायालय माथि दबाव सिर्जना गर्न खोज्नुले भविष्यमा गंभीर संकट पैदा हुने बताए । उनले भने ‘सञ्चारमाध्यमहरुमा पनि नकारात्मक सोच भएका मानिसहरु छन उनीहरु आफ्ना गलत कामलाई संस्थागत गर्न न्यायलय नै कब्जा गर्न खोज्दैछन’

‘डा गोविन्द केसीलार्इ पक्राउ गर्ने आदेशबाट तपाइँको दूर्दिन सुरु भएको हो ?’ भनेर सोधिएको प्रश्नमा पराजुलीले कानूनको धज्जी उडाउनेहरूको विरोधमा आफ्नो फैसला भएको बताउँदै न्यायको लागि मर्नै परेपनि पछि नहट्ने दृढ संकल्प लिएर आफुले कार्यसम्पादन गरेको बताए । उनले वास्तविक जीवनमा कुनै महत्व नराख्ने गोविन्द केसी ‘फिल्मी शैलीको मात्र हिरो’ भएको टिप्पणी गरे ।

उनले भने, ‘जनताको भीड र मिडियाको समाचारका आधारमा न्यायमूर्तिले फैसला गर्दैन । न्यायमूर्तिले त कानून, नियम र संविधानअनुसार काम गर्ने हो ।’ उनले २७ वर्षे सेवाकालमा कुनै गलत निर्णय नगरेको र आफूले गरेका निर्णयहरू कहिल्यै नउल्टेको दाबी गरे ।

‘त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा शशी शर्मालार्इ पुनर्बहाली गर्ने निर्णय सही थियो त ?’ भनेर सोधिएको प्रश्नमा पराजुलीले ७ पटक फाँसी दिएर पुनर्जन्म भएपनि त्यही निर्णय गर्ने र सो फैसलाप्रति आफू खुसी रहेको बताए ।

एनसेल, गोर्खा ब्रुअरी, क्यासिनो लगायतका विभिन्न व्यवसायिक कम्पनीहरुलाई ६२ अर्ब कर छुटको फैसला गरेको भन्ने कुरा निराधार रहेको पराजुलीको भनाई छ ।

अकुत सम्पती जोडेको भन्ने आरोप अस्वीकार गर्दै पराजुलीले आफुसंग पारदर्शी सम्पतीमात्र रहेको दाबी गरे । काठमाण्डौमा २०४८ सालमा किनेको २ रोपनी ५ आना घर घडेरी र तरार्इमा ३५ रोपनी जमिन र केही बैक ब्यालेन्स बाहेक आफुस‌ंग अरु कुनै गलत ढंगले आर्जन गरेको सम्पती नभएको स्पष्ट पारे ।

उनले आफूलार्इ माफियाले बदनाम गर्न मात्र खोजेको भन्दै सम्पत्ति शुद्धिकरणले आफ्नो सम्पत्ति जाँच गरेपनि केही फरक नपर्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्