सैघाली खबर,
काठमाण्डौ ६ फागुन। गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार सुन्धारा र डिल्लिबजार कारागारको निरीक्षण तथा अवलोकन गरेका छन् । अनुगमनका क्रममा जेलको भौतिक संरचना निकै कमजोर रहेको, वासस्थानको राम्रो व्यवस्था नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको मन्त्री थापाले बताए ।
उनले जेललाई यातनागृहको रुपमा नभई सुधारगृहको रुपमा विकास गर्न आवश्यक रहेको र त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्न आफूले ठोस कदम चाल्ने बताए । कैदीको क्षमता भन्दा धेरै कैदी कारागारमा राखिएको, कारागार जीर्ण अवस्थामा रहेको भन्दै नुवाकोटमा बन्ने नयाँ जेलका लागि तत्काल काम अघि बढाउन मन्त्रालयले पहल गर्ने उनले बताए ।
कैदीले हाल पाउँदै आएको सिदामा वृद्धि गर्ने, उनिहरुको सेवा, सुविधा वृद्धि लगायतका विषयमा पनि मन्त्रालयले तत्काल प्रक्रिया अघि बढाउन थापाले आश्वासन दिए ।
कैदीहरुले आफूहरुले पाउँदै आएको दैनिक सिदा वापतको रकम रु ४५ बाट वृद्धि गर्नुपर्ने, जघन्य अपराध बाहेकका कैदीलाई एक पटक सबैलाई माफि दिनुपर्ने, मुद्दाको फैसला छिटो हुने व्यवस्था मिलाउनुपर्ने, आफूहरुले दिएको बयानलाई अदालतले नसुनेर प्रहरीको भनाई मात्रै सुन्ने गरेको भन्दै त्यो सच्याउनुपर्ने, वासस्थानको राम्रो व्यवस्था हुनुपर्ने लगायतका माग राखेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।