सहारा नहुँदा आमाको पीडा’ बृद्धाश्रम लैजान्छु भन्दै अलपत्र बृद्धाश्रमले राख्न मानेनन्



दिपक बोहरा, तुलसीपुर ६ चैत्र ।
घोराही उपमहानगरपालिका बाहुनडाँडाकी ६६ बर्षिया बिष्णुमती योगीलाई एक हप्ता अगाडी बृद्धाश्रममा लैजान्छु भनेर केही ब्यक्तिले घरबाट अटोमा हालेर लगे । उनमा आँखा नदेख्ने समस्या थियो , त्यसैले कसले ल्यायो भन्ने उनलाई कुनै जानकारी भएन । आँखा नदेख्ने समस्या भएकै कारण उनलाई घोराहीको बृद्धाश्रमले राख्न मानेन । त्यस पछि तुलसीपुरको बृद्धाश्रममा ल्याए । तर आफन्त कोही नभएको भन्दै वृद्धाश्रमले राख्न मानेन । ‘खै कस्ले अटो रिक्सामा हालेर ल्यायो, आँखा देखिन, अलिअलि कुरा गरेको सुनेकी थिए’ उनले भनिन्‘ बृद्धाश्रमले नराखेपछि मलाई गाडिमा ल्याएर यहाँ ल्याएर छोडिदिए ।’

उनलाई केही दयालु मन भएका ब्यक्तिले राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रांगणमा ल्याएर छोडिदिए । त्यसपछि करिब १५ दिन देखि उनी खुल्ला आकाशमुनी रात विताउन बाध्य छन् । खुल्ला आकाशमुनी बस्न बाध्य बनाईएकी बिष्णुमतीले खाना नखाएको पनि १५ दिन भईसक्यो । ‘१४ ÷१५ दिन यही बस्दै आएकी छु’ उनले भनिन्‘ खाना पनि पाएकी छैन ।’

केही दिनसम्म वरपरकाले खाना दिएपनि अहिले भने भोकभोकै रात विताउनु परेको उनले बताईन् । उनको घोराहीको बाहुनडाँडामा एक कठ्ठा ऐलानी जग्गामा छ । त्यही सानो झुपडी छ । तर उनलाई सहारा दिने कोही छैनन् । उनका श्रीमान धेरै बर्ष देखि बेपत्ता छन् । ‘घरमा सहारा दिने कोही छैनन्, एक्लै बस्दै आएकी छु’ उनले भनिन् ‘श्रीमान हराएको पनि धेरै भईसक्यो ।’ उनका छोराहरु पनि साथमा छैनन् । उनले चार छोरालाई जन्म दिईन्, तर उनका एक छोरा मात्रै जिवित रहे ।

अरु सबै छोराहरु सानै उमेरमा मृत्यु भएको उनले बताईन् ।‘ चार छोराहरुलाई जन्म दिएकी हु’ उनले भनिन्‘ तर एउटा छोरालाई मात्रै बचाउन सकँे, अरु सबै छोराहरु साने उमेरमा बिते ।’ त्यही एउटा छोरो पनि आफ्नो सहारा बन्न सकेन । उल्टै आफ्नै आमालाई कुटपिट गरेर घर छोडेको लामो समय भईसक्यो तर अहिले सम्म घर फर्केका छैनन् ।’ ‘एउटा छोरो मात्रै साथमा थियो’ उनले भनिन्‘ तर त्यही छोराले पनि मलाई कुटपिट गरी मसंग भएका सबै पैसा लिएर भाग्यो, अहिले सम्म घर आएको छैन् ।’ अहिले भएको एउटा छोरा र श्रीमान पनि साथमा नहुँदा पटक पटक भक्कानिएर रुने गरेको उनले बताईन् । ‘ती चारजना छोराहरुलाई जन्म दिँदै गर्दा जति पीडा सहेकी थिएँ’ उनले भनिन् ‘त्यही पीडालाई अहिले झलझली सम्झिरहन्छु ।’ छोराहरु जन्माउदा उनलाई जति पीडा भएको थियो, तर त्यो पीडा जन्म दिएपछि एकाएक खुसीमा परिणत भएको थियो । त्यो खुसी यस्तै दुःख परेको बेला सहारा बन्छन्, भन्ने अपेक्षाकृत पनि थियो ।

अहिले उनलाई हराईरहेका छोरा र श्रीमानको यादले पनि उत्तिकै याद आउँछ । ‘संगै जीवन काट्ने श्रीमान पनि छैनन्’ उनले भनिन्‘ बुढेसकालमा सहारा बन्ला भनेको छोरा पनि बेपत्ता छ ।’ ती छोरा र श्रीमान साथमा नहुँदा अहिले उनी खुल्ला आकाशमुनी रात बिताउन बाध्य छिन् । कठ्याङ्ग्रिदो रात र दिउँसोको घाममा दिन विताउन बाध्य छन् । त्यो पनि पानी समेत पिउन नपाई .. ।
श्रीमान र छोरा साथमा नहुँदा अहिले यस्तो नियती भोग्नु परेको उनले बताईन् । ‘घरमा पनि सम्पत्तिको नाममा सानो झुपडी मात्रै छ’ उनले भनिन् ‘ घरमा खानेकुरा पनि केही छैन ।’ त्यसमा पनि बिगत तीन चार महिनादेखि उनमा आँखा नदेख्ने समस्या छ । जसले गर्दा उनले आफैले खाना पकाएर खान सक्ने अवस्था पनि छैन । ‘आँखा पनि देख्न छाडेको तीन चार महिना भयो’ उनले भनिन् ‘जसले गर्दा आफैले खाना बनाएर खाना समेत सक्दिन् ।’

अञ्चल अस्पतालमा उपचार जारी


अहिले उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । तुलसीपुर ९ बेलुवा निवासी होमा भण्डारीले उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भएपछि उपचार शुरु गरिएको हो । १५ दिनसम्म अस्पताल परिसरमा बसिरहेकी उनको उद्धारमा कसैको पहल नभएपछि भण्डारीले उपचारका लागि पहल गरेकी हुन् । अस्पतालमा उनको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भण्डारीले बताईन् । ‘अस्पतालमा बुढी आमा त्यतिकै अलपत्र परेको देखेँ’ उनले भनिन्‘ दया जागेर आयो अनी आफैले उपचार गर्ने प्रण गरे ।’

उपचार पछि कहाँ राख्ने भन्ने चिन्ता
उनको उपचार पछि कहाँ राख्ने भन्ने चिन्ता भने जारी छ । उनका आफन्त छैनन् । घरमा उनले आफै खाना पकाएर खान सक्ने अवस्था पनि छैन । र बृद्धाश्रमले राख्न पनि मानिरहेका छैनन् । यस्तो अबस्थामा उनलाई कहाँ राख्ने भन्ने चिन्ता रहेको भण्डारीले बताईन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्