खुमबहादुरलाई टक्कर दिन आफ्र्नैै भाइ द्धारा उम्मेदवारी दर्ता



दाङ, ४ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काका भाइ डिल्लीबहादुर खड्का क्षेत्रीले लमही नगरपालिकामा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

दाङको देउखुरी उपत्यकास्थित लमही नगरपालिकाको मेयर पदमा डिल्लीबहादुरले उम्मेदवारी दिएका हुन् । दलबलसहित मनोनयन दर्ता गर्न पुगेका उनले भने, ‘कांग्रेसले मलाई मेयर पदको टिकट दिएन । त्यसपछि साथीहरूको सल्लाहमा स्वतन्त्र रुपबाट उम्मेदवारी दिएको हुँ ।

कांग्रेस नेता खुमबहादुर खड्काले लमही नगरपालिकामा आफू निकटका जोगराज चौधरीलाई मेयर पदको टिकट दिएपछि आफ्नै भाइ डिल्लीबहादुर खड्काले असन्तुष्टि जनाएका हुन् ।

खुमबहादुरसँगै लामो राजनीति गर्दै आएका डिल्लीबहादुर खड्का राजनीतिमा कहिल्यै माथि उठ्न सकेनन् । यसपटक पनि खुमबहादुरले डिल्लीबहादुरलाई लमही नगरको टिकट दिन्छु भनेर आश्वासन दिए पनि अन्तिम क्षणमा आएर जोगराज चौधरीलाई टिकट दिएका थिए ।
उपमेयरमा पनि स्वतन्त्र उम्मेदवारी परेको छ । उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिनेमा नीमबहादुर थापा रहेका छन् ।

दाङ जिल्लाका अधिकांस स्थानीय तहमा खुमबहादुर खड्का र रामचन्द्र पौडेल समूहबीच ठूलो द्वन्द्व छ । सभापति शेरबहादुर देउवा समूहले खुमबहादुर समूहलाई सहयोग गरेको छ । तर, पौडेल समूह कांग्रेसका आफ्नै उम्मेदवारहरूलाई हराउन कम्मर कसेर लागेको छ ।

कांग्रेसका उम्मेदवारहरू हराउने अभियानमा पूर्व सांसद कृष्णकिशोर घिमिरेको परिवार पनि सक्रिय भएर लागेको कांग्रेसी नेताहरूको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्