सैघाली खबर
काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा कटौती गरेका छन् । मन्त्रिपरिषद्को बैठकमार्फत प्रम ओलीले सल्लाहकारहरुको संख्यामा ठूलो मात्रामा कटौती गरेका हुन् ।
सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलबाँसकोटका अनुसार यसअघि सचिवालयमा रहेको ४७ सदस्यबाट घटाएर अब २८ सदस्यमा झार्ने निर्णय भएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईको पालामा सचिवालय २३ बाट बढाएर ४७ सदस्यीय बनाइएको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय समूह छरितो बनाउन कार्यविधि पारित गरेको छ । आर्थिक मितव्ययिता अपनाउने नीतिअनुरुप प्रधानमन्त्रीको सचिवालयमा संख्या कटौती गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् ।
जुन दलको प्रधानमन्त्री बन्छ उसले आफ्नो सचिवालयमा मनलाग्दी कार्यकर्ता भर्ती गर्ने चलन थियो । तर, प्रम ओलीले आफ्नो सचिवालयमा कटौती गर्दै सल्लाकारको समूह छरितो बनाउने निर्णय गरेका हुन् । त्यसैगरी सरकारको काम कार्बाहीलाई तीब्र र प्रभावकारी बनाउन मन्त्रिपरिषद्को मातहतमा विभिन्न पाँच विषयगत समिति गठन गरिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक समिति, आर्थिक तथा पूर्वाधार समिति, प्रशासन समिति, समाजिक समिति र विधेयक समिति बनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री बाँस्कोटाले जानकारी दिएका छन् । राज्यमन्त्री बाँस्कोटाले कतिपय सहसचिवस्तरका कर्मचारीलाई उपसचिव र त्यो भन्दा तल्लो तहमा सचिवालय सदस्य राखिने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।