सैघाली खबर
काठमाडौं,९ चैत
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक रेडियोका मुद्दालाई प्राथमिकताका साथ समावेश गर्ने प्रतिबद्धता जनाउनु भएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १७ औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आज भएको विशेष समारोहमा मन्त्री बास्कोटाले यस्तो बताउनु भएको हो ।
अकोराब स्थापना दिवसको अवसरमा आयोजित ‘सामुदायिक रेडियोको नीति एवम् स्थानीय तहसँगको साझेदारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री बास्कोटाले आजको छलफलबाट निस्किएको निष्कर्षको बारेमा आफूलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
आम नागरिकको चेतना अभिवृद्धि गर्न सामुदायिक रेडियोले महत्वपुर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । मन्त्री बास्कोटाले स्थानीय तहले सामुदायिक रेडियोसँग मिलेर आफ्ना जनतालाई सूचना आदानप्रदान गर्न सक्ने धारणा राख्दै सामुदायिक रेडियोलाई लोक कल्याणकारी बिज्ञापन सरल ढङ्बाट उपलब्ध गराउन आफू लागिपर्ने उल्लेख गर्नुभयो ।
एक फरक प्रसङ्गमा मन्त्री बास्कोटाले यूरोपियन यूनियनले नयाँ संविधानप्रति जारी गरेको असन्तुष्टिप्रति आपत्ति जनाउनुभयो ।कार्यक्रममा काठमाण्डौ महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्यले सामुदायिक रेडियो प्रसारक संघ अकोराबसँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो ।
काठमाण्डौ महानगरले समेत रेडियो सञ्चालन गरिरहेको जानकारी दिँदै उहाँले अकोराबसँग थप सहकार्य गरेर अगाडि बढ्ने धारणा राख्नु भएको हो । समाचार सामग्री सम्प्रेषण गर्दा सकारात्मक कुरामा पनि जोड दिन आग्रह गर्दै उहाँले नागरिकको आनीबानीमा परिवर्तन ल्याउन पनि सामुदायिक रेडियो प्रभावकारी माध्यम बन्न सक्ने टिप्पणी गर्नुभयो ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले स्थानीय तहको ऐन कानुन बनाउँदा सामुदायिक रेडियोको सुझाव आवश्यक रहनेमा जोड दिनुभयो । जनशक्तिको सदुपयोग हुने गरी सामुदायिक रेडियोबाट कार्यक्रमहरु प्रसारण हुनुपर्नेमा जोड दिनुभयो ।
समुदायमा रहेका महिला जनशक्तिको सदुपयोग गर्न सके स्थानीय तह पनि सफल हुने उहाँले बताउनुभयो । स्थानीय तहमा सञ्चालन भइरहेका सामुदायिक रेडियोसँग सहकार्य गर्न आवश्यक रहेकोमा उहाँले उल्लेख गर्नुभयो । सामुदायिक रेडियोलाई प्रभावकारी बनाउन वीरगञ्ज महानगपालिका सधैँ तयार रहेको उहाँले जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सामुदायिक रेडियो प्रसारक संघको स्थापनाका लागि बुटवलमा भएको छलफलको सम्झना गर्दै आज १७ वर्ष पार गरेकोमा अकोराबमा आवद्ध सबै सदस्यलाई बधाई तथा शुभकामना दिनुभयो ।
सामुदायिक रेडियोसँग सहकार्य गर्न आफू तयार रहेको भन्दै उहाँले के कस्तो प्रकारको सहकार्य गर्ने भन्ने बारेमा अकोराबसँग छलफल र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । सामुदायिक रेडियोको दिगोपना सबैभन्दा महत्वपूर्ण भएकोमा जोड दिदै स्थानीय स्तरमा सञ्चालन भएका सामुदायिक रेडियोको लागि कोषको स्थापना गर्नुपर्ने सुझाव पनि दिनुभयो ।
प्रतिनिधिसभाका सदस्य तथा गाउँपालिका महासंघ महाधिवेशन आयोजक समितिका संयोजक घनश्याम खतिवडाले सूचना प्रवाहमा रेडियो प्रभावकारी बन्दै गएको बताउनुभयो । स्थानीय तह र समुदायको अधिकारको विषयमा धेरै विषय सामुदायिक रेडियाले स्थानीयको घरघरमा पुगाउन सफल भएको बताउनुभयो ।
स्थानीय तहले एफएम रेडियो सञ्चालन गर्ने विषयमा सामुदायिक रेडियो प्रसारक संघले आयोजना गरेको छलफल कार्यक्रम प्रभावकारी रहेको टिप्पणी गर्नुभयो । स्थानीय स्तरमा सञ्चालनमा रहेका सामुदायिक रेडियोलाई थप प्रभावकारी बनाउन स्थानीय तहको भूमिका महत्वपुर्ण रहने उहाँको भनाइ छ । सामुदायिक रेडियो सञ्चालन नभएका स्थानीय तहले जनतालई सूचित गर्नको लागि एफएम रेडियो सञ्चालन गर्न सक्नेमा उहाँले जोड दिनुभयो ।
धुलीखेल नगरपालिकाका प्रमुख एवम् नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्यन्जुले सामुदायिक रेडियोसँग मिलेर बढ्न स्थानीय तहहरु तयार रहेको जानकारी दिदै स्थानीय सरकारले रेडियो सञ्चालन गर्दा कुनै समस्या नहुने भनाइ राख्नुभयो ।
स्थानीय तहले एफएम रेडियो सञ्चालन गर्नुपर्छ भन्नेमा आफ्नो मत नरहेको बताउँदै उहाँले सञ्चालन गर्दा समस्या भने नहुने उल्लेख गर्नुभयो । स्थानीय तहले सञ्चालन गरेका रेडियोको कार्य्विधि तयार पार्दा विशेष ध्यान दिन जरुरी रहेको व्यन्जुले बताउनुभयो ।
सहकार्य, साझेदारी र सहअस्थीत्वको आधारमा सञ्चार नीति निर्माणमा पनि उहाँले जोड दिनुभयो । सञ्चार नीति बनाउँदा स्थानीय तह, प्रदेश सरकार र केन्द्रको सरकारकबीच आपसमा सहकार्य गर्ने उहाँले उल्लेख गर्नुभयो । प्रतिनिधिसभाका सदस्य सांसद् यज्ञराज सुनुवारले सामुदायकि रेडियोहरुले अति महत्वपूर्ण सूचना प्रवाह गरिरहेको बताउनुभयो ।
स्थानीय, प्रदेश र केन्द्रीय सरकार सामुदायिक रेडियो प्रति सकरात्म हुनुपर्नेमा जोड दिनुभयो । सञ्चार नीति निर्माण गर्दा विशेष ध्यान दिन पनि स्थानीय, प्रदेश र केन्द्रको सरकारसँग सुनुवारले आग्रह गर्नुभयो ।
सांसद् प्रदिप यादवले स्थानीय तहले रेडियो सञ्चालन गर्दा सामुदायिक रेडियोको अस्तित्व संकटमा पर्ने चेतावनी दिनुभयो । आधारभूत स्वास्थ्य सेवादेखि लिएर निकै महत्वपूर्ण सूचना स्थानीय स्तरमा अहिले सञ्चालन भइरहेका सामुदायिक रेडियोले प्रसारण गरिरहेकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो । सामुदायिक रेडियोलाई थप बलियो बनाउन बनाउन चाहिने सबै कदमलाई आफूले साथ दिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा अकोराबले सामुदायिक रेडियोको नीति एंव स्थानीय तहसँगको साझेदारी विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोरब) नेपालले आयोजना गरेको सामुदायिक रेडियोको नीति र स्थानीय तहसँगको साझेदारी विषयक अन्तरक्रियामा बोल्दै विपद्विज्ञ डा. गंगालाल तुलाधरले साुमदायिक रेडियोले विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
विपद्पछि उत्पन्न हुने प्रकोपसँग लड्न सामुदायिक रेडियोबाट प्रसारण हुने सूचनाले प्रभावकारी काम गरेको उहाँको भनाइ छ । विपद्को जोखिममा नेपाल चौथो स्थानमा पर्ने बताउँदै उहाँले प्राकृतिक विपद् चाहेर पनि रोक्न नसकिने तर विपद्पछिको क्षतिमा भने न्यूनिकरण गर्न सकिनेमा जोड दिनुभयो ।
वर्षमा १ हजार जना नेपालीको विपद्का कारण मृत्यु हुने गरेको जानकारी गराउँदै विपद्को पूर्व तयारीमा पनि सामुदायिक रेडियोको भूमिका कम नहुने बताउनुभयो । स्थानीय परिस्थितिलाई ध्यान दिँदै सामुदायिक रेडियोले विपद्बाट जोगिने सन्देश प्रसारणमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रशासनविद् काशीराज दाहालले जनताको जीवनस्तर उकास्न सामुदायिक रेडियो प्रभावकारी माध्यम भएको बताउनुभयो । सबै पक्षसँग मिलेर सञ्चार नीति बनेको जानकारी दिदै उहाँले सम्बन्धित क्षेत्रका विज्ञहरुसँगको छलफलबाट थप निचोडमा पुर्याउन र परिमार्जन गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।