टेलिकमको टावर नहुँदा कुराकानी गर्न समस्या



सैघाली खबर,
रुकुम १२ चैत । रुकुम पूर्वका अधिकांश क्षेत्रमा सञ्चार सुविधा छैन । जिल्लाका सिस्ने, भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकाअन्तर्गत पर्ने पूर्वी हिमाली क्षेत्रमा सञ्चारको सहज पहुँच नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

टेलिकमको टावर नहुँदा मोबाइलबाट कुराकानी गर्न समस्या भएको भुमे गाउँपालिका–३ झुम्लाङका कमला बुढाले गुनासो गरिन् । जिल्लाका रुकुमकोेट, रन्मामैकोट, कोल र राङ्सीको सेपे लेकमा नेपाल टेलिकमको सीडीएमएका टावर छन् ।

यी टावरले नजीकका केही गाउँमा सञ्चार सेवा सहज बनाए पनि पनि उच्च हिमाली क्षेत्रका अधिकांश गाउँमा भने मोबाइलको नेटवर्क नै टिप्दैन । ‘गाउँमा टावरै आउँदैन, फोन गर्नुपर्‍यो भने डाँडा चढ्नुपर्छ, साह्रै समस्या छ,’ पुथा उत्तरगङ्गा गाउँपालिका–३ की भोगमाया बुढाले भनिन् ।

जिल्लाको हिमाली भागका केही स्थानमा निजी दूरसञ्चार सेवा प्रदायक संस्था एनसेल र हेलो नेपालका टावर छन् । तर, यी पनि पर्याप्त मात्रामा छैनन् । टावर नटिप्दा मोबाइलबाट कुरा गर्दा काटिने, नबुझिने समस्या हुने गरेको स्थानीयको गुनासो छ ।

जिल्लाका तीन स्थानीय तह दुर्गम र हिमाली क्षेत्रमा पर्छन् । आगामी आव यस क्षेत्रलाई लक्षित गरी योजना ल्याउने तयारी भइरहेको नेपाल टेलिकम रुकुम पश्चिमका प्रमुख कृष्णप्रसाद शर्माले बताए ।

उनका अनुसार आगामी आर्थिक वर्ष चुनवाङ जाङमा टावर निर्माणका साथै रुकुमकोट, सेपे लेक, मैकोट र कोलमा रहेको टेलिफोन टावरको स्तरवृद्धि गरिनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्