सैघाली खबर
दाङ, १३ चैत । युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका बारेमा तयार पारेको प्रतिवेदन संघीय संसद प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले बुझेको भनेर सामाजिक सञ्जालहरुमा भइरहेको बहस र विवादका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । मंगलवार एक विज्ञप्ती जारी सभामुख महराले इयू निर्वाचन पर्यवेक्षण मिसन टोलीले परराष्ट्र मन्त्रालयमार्फत भेटवार्ताका लागि गरेको अनुरोधअनुसार चैत्र ५ गते (मार्च २०) मा सभामुखज्यूले संसद सचिवालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेको उल्लेख छ ।
उक्त भेटमा इयूको टोलीले आफूले तयार पारेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रतिवेदन ‘भोलि चैत्र ६ गते÷मार्च २१ सार्वजनिक गर्दैछौं, अध्ययनका लागि सभामुखज्यूलाई एकप्रति प्रदान गर्छौं’ भनेपछि उहाँले उक्त प्रतिवेदन लिनुभएको विज्ञप्तीमा उल्लेख छ ।
। सभामुख महराले उक्त प्रतिवेदनमा के छ भनेर सोध्दा इयू मिसन टोलीले ‘२९ बुँदे सुझावसहित समग्र रिपोर्ट पेश गरेका छौं’ भनेर जवाफ दिएको थियो ।
छलफलका क्रममा हाल उठिरहेको प्रतिवेदनसम्बन्धी विवादको विषयमा सभामुखको प्रतिनिधि मण्डलले आफ्नो मतसहित मिसन टोलीलाई प्रश्न उठाएको थियो ।
अहिले सामाजिक सञ्जालहरुमा सरकारले अस्विकार गरेको प्रतिवेदन सभामुखले किन बुझेको भनेर बहस भइरहेको छ, त्यो सरासर गलत छ । अध्ययनको लागि इयूको टोलीले सभामुखलाई दिएको उक्त प्रतिवेदन अहिले बुझेको नभई सरकारको धारणा आउनुअघि नै चैत्र ५ गते नै शिष्टाचार भेटवार्ताको क्रममा अध्ययनका लागि लिइएको हो । सरकारले अस्विकार गरिसकेपछि सभामुखज्यूले बुझेको भन्ने कुरा सरासर गलत हो । प्रतिवेदनबारे नेपाल सरकारको धारणासँग सभामुखज्यूको धारणा बाझिएको छैन ।
इयू मिसन टोलीसँग भेटवार्ता भएकै दिन चैत्र ५ गते अनलाइन न्यूज पोर्टलहरु र ६ गतेका दैनिक पत्रिकाहरुमा सभामुखज्यू र इयू टोलीको भेटघाटको समाचार आइसकेको थियो । समाचारमा प्रष्टसँग ‘इयू टोलीले सभामुखज्यूसँग शिष्टाचार भेटघाट गरेको र भोलि (चैत्र ६) गते पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गर्ने’ उल्लेख गरिएको थियो ।
त्यसैले, सामाजिक सञ्जालमा भइरहेको आरोपजस्तो सरकारले अस्विकार गर्दागर्दै सभामुखले प्रतिवेदन बुझेको भन्ने कुरा साँचो नभएको पनि सभामुख महराले विज्ञप्ती मार्फत प्रष्ट पार्नभएको छ । अतः यथार्थता बुझेर मात्रै सामाजिक सञ्जालहरुमा आफ्ना विचार, धारणाहरु सार्वजनिक गर्न विज्ञप्ती मार्फत अनुरोध गर्नुभएको सभामुखका प्रेस विज्ञ डिल्ली मल्लले जानकारी दिनभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।