स्थानीय तहलाई करारमा कर्मचारी लिने बाटो खुल्यो



चैत्र १4, सल्यान ।
स्थानीय तहलाई करारमा कर्मचारी लिने बाटो खुलेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि (२०७४ (नमूना कार्यविधि) स्वीकृत गरेपछि स्थानीय तहलाई जनशक्ति व्यवस्थापनमा केही सहज हुने भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कार्यविधि स्वीकृत गरेपछि कर्मचारी अभावका कारण दैनिक कार्यसञ्चालनमै समस्या झेलिरहेका स्थानीय तह आफैंले अब करारमा जनशक्ति नियुक्त गर्न सक्नेछन् ।
सम्बन्धित स्थानीय तहले कार्यविधिलाई आफ्नो आवश्यकता अनुसार कार्यपालिका बैठकबाट निर्णय गरी लागू गराउन सक्ने मन्त्रालयले जनाएको छ ।

नमूना कार्यविधिले स्थानीय तहलाई आवश्यक पर्ने इन्जिनियरिङ, कृषि, पशु, वन, स्वास्थ्य सेवासँग सम्बन्धित जनशक्ति करारमा लिन सक्ने व्यवस्था गरेको छ ।
संगठनको दरबन्दी अनुसार जनशक्ति करारमा लिँदा अपनाउनुपर्ने विधि कार्यविधिमा उल्लेख छ ।

स्थानीय तहले स्वीकृत दरबन्दीको परिधिभित्र रहेरमात्रै करारमा जनशक्ति लिन सक्नेछन् ।

तत्काल कर्मचारी व्यवस्थापन जटिल हुने भएपछि त्यसलाई पूर्ति गर्न मन्त्रालयले करारको यस्तो उपाय अवलम्बन गरेको हो ।

कर्मचारी समायोजन ऐन र नियमावलीको व्यवस्था अनुरुप आगामी दिनमा स्थानीय तहलाई आवश्यक कर्मचारी व्यवस्थापनलाई सहजीकरण गर्दै लैजाने मन्त्रालयले बताएको छ ।

कर्मचारी समायोजन नियमावली लामो समयदेखि कानून मन्त्रालयमा थन्किएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्