आज उम्मेदवार विरुद्ध दाबी विरोध गर्ने समय ।



असार ५

निर्वाचन आयोगले असार १४ गते दोस्रो चरणमा हुने ३ वटा प्रदेशका ३३ जिल्लाको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता विरुद्ध आज दावी विरोध गर्ने समय दिएको छ । हिजो दर्ता भएका उम्मेदवार विरुद्ध आज दाबी विरोध गर्न सकिने भएको छ । सर्वधारणाले पनि उजुरी दर्ता गर्न पाउनेछन् । त्यसका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तय गरिएको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिऐ । मैनालीका अनुसार आज निर्वाचन अधिकृतको कार्यालयले मनोनयनपत्र जाँच पनि गर्नेछ । भोलि उम्मेदवारी फिर्ता र भोलि नै अन्तिम नामावली प्रकाशित हुनेछ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहका आकांक्षीं उम्मेदवारहरुले हिजो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । बिहान ८ देखि दिउँसो ४ बजेसम्म भएको मनोनयन दर्तामा करिब २६ हजारले उम्मेदवारी दिएका छन् । ३३४ स्थानीय तहका ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्ने छन् । निर्वाचन आयोगका अनुसार ४ हजार ५ सय ८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहने छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने छन् । ४७ वटा संस्थाका करिब ७ हजार ८९ जना पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको आयोगले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्