शैक्षिक हड्ताल स्थगित गरियोसः प्याब्सन



१६ चैत काठमाडौं

नीजि विद्यालयहरुको छाता संगठन प्याव्सनले एसईई परीक्षाको बीचमै विद्यार्थी संगठनहरुले गर्ने भनिएको शैक्षिक हड्तालले विद्यार्थी संगठनहरुको शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोणमा प्रश्न उब्जाएको जनाएको छ ।

आगामी चैत २३ गते निर्धारित अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै विद्यार्थी संगठनहरुले चैत १७ गतेदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा गरेका छन् ।

चैत ८ गतेबाट चलिरहेको एसईई परीक्षा चैत २० गते मात्र सकिन्छ ।

शैक्षिक हड्ताल गर्नु आफैमा दुःखद हो,’ प्याब्सनका महासचिव राजेन्द्र बानियाँले अनलाइन खबरसँग भने, ‘परीक्षाकै बीचमा हड्ताल गरिँदा विद्यार्थीहरुको मानसिकतामा कस्तो असर परेको होला ?’
निर्णय पुनर्विचार गर्न विद्यार्थी संगठनहरुलाई बानियाँले आग्रह गरे ।

विद्यालय शान्ति क्षेत्र घोषित भए पनि बिभिन्न बहानामा बन्द हड्ताल हुँदै आएको छ । सरकारले आन्दोलनरत शिक्षक र विद्यार्थीहरुसँग वार्ता गर्न समिति बनाए पनि उनीहरु पहिले परीक्षा स्थगित हुनुपर्ने अडानमा छन् ।

परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकहरु र विद्यार्थी संगठनहरु आन्दोलनमा छन् ।

आन्दोलनको कार्यक्रम अन्तर्गत प्रमुख तीन विद्यार्थी संगठनहरुले शुक्रबार बिहान देशभरका कलेज अगाडि चक्काजाम गरेका छन् ।

शिक्षा ऐन नवौं संशोधनमा आन्तरिक प्रतिस्पर्धामा ७५ प्रतिशत र खुला प्रतिस्पर्धामा २५ प्रतिशत कोटा छुट्याइएको छ ।

यसबाट हजारौं नयाँ जनशक्ति मारमा पर्ने भन्दै प्रमुख विद्यार्थी संगठनहरुले विरोध गर्दै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्