काठमाडौँ, १६ चैत । पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार साँझ उनको मृत्यु भएको हो ।
अपोलो अस्पतालमा उपचार शुरु भएको ३९ दिनमा खड्काको निधन भएको हो । उनको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई बचाउन नसकेको बताएका छन् । अपोलोका प्रबन्ध निर्देशक डा अशोक वाजपेयीले खड्कालाई बचाउन नसकेकोमा दुख व्यक्त गरे ।
गत फागुन ४ मा उनको स्वास्थ्यामा गम्भीर समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर उनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई फागुन ६ गते थप उपचारको लागि दिल्लीको एपोलो अस्पताल लगिएको थियो ।
निधनको कारण
‘माइल्ड स्ट्रोक’का कारण खड्काको निधन भएको बताइएको छ । केही वर्षअघि उनको दुबै मृगौला फेल भएको थियो । उनले दिल्लीको एपोलो अस्पतालमा नै मृगौला प्रत्यारोपण गरेका थिए । सो समयमा उनकी भाञ्जीले उनलाई मृगौला दान गरेकी थिइन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।