१७ चैत्र
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री निर्वाचितपछि नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाही सुशासन, भ्रष्टाचार र जवाफदेहीताबारे भाषण गर्दै आएका छन् ।
उनले प्रदेशका सबै कर्मचारीलाई आफ्नो कामबाट दायाँबायाँ गर्न नदिने बताउँदै आएका छन् । मुख्यमन्त्री शाहीले कर्मचारीले जनताको काम ढिलासुस्ती गरेको भन्दै सामाजिक संजाल फेसबुक नै बन्द गर्ने घोषणा पनि गरेका छन् ।
तर, जुन कार्यको विरोध गरेर भाषण गर्छन् त्यसबाट मुख्यमन्त्री शाही आफू मुक्त नभएको खुसाला भएको छ । मुख्यमन्त्री शाहीमा इमान्दारिता र जवाफदेहीतामा निकै कमी भएको महशुस प्रदेशबासीले गरेका छन् ।
जान वा अन्जान मुख्यमन्त्री शाहीले धेरै नियत र नैतिकतासँग जोडिने धेरै कार्य गरेका छन् । त्यहीमध्येको एक हो, श्रीमतीलाई बसीबसी तलब खाने व्यवस्था । मुख्यमन्त्री शाहीकी श्रीमती चन्दा शाही प्रावि स्तरको शिक्षिका हुन् । उनले नपढाएरै तलब भत्ता बुझ्दै आएकी छन् ।
जिल्ला शिक्षा कार्यालय स्रोतका अनुसार कालिकोटको पचाल झरनाको गाउँपालिकाको तिकुवास्थित कालिका आधारभूत विद्यालयकी शिक्षिका हुन चन्दा ।
कक्षा पाँचसम्म पढाई हुने उक्त विद्यालयमा विगत चार वर्षदेखि वर्षको एक पटक मात्रै आउँछन् शिक्षिका चन्दा । वर्षभरिको हाजिर लगाएर फर्किन्छन् । वर्षको एक पटक हाजिर लगाउने र नपढाएरै सेवा-सुविधा बुझ्ने व्यवस्था मुख्यमन्त्री शाहीले नै मिलाई दिएका हुन् ।
शिक्षकहरुले खेतला राखेर तलब सेवा सुविधा बुझ्दै आएका घटना पटकपटक सार्वजनिक भएका थिए । त्यो धेरै नेता, मन्त्री र पहुँचवालाकी श्रीमती वा नातेदारले गर्दै आएका थिए तर मुख्यमन्त्री शाहीले त्यति पनि नगरेर वर्षको एक पटक हाजिर लगाए पुग्ने मिलाएका छन् । वर्षको एक पटक विद्यायलय पुग्ने चन्दाले तलब भने अरु शिक्षकहरु सरह बुझ्दै आएकी छन् । आफूले वर्षभरी पढाउनु पर्ने तर चन्दाले नपढाएरै तलब बुझ्दै आएको भन्दै शिक्षकहरुले असन्तुष्टि जाहेर गर्दै आएका छन् ।
“आफ्नी श्रीमतीलाई नपढाएरै तलब खाने बनाउने मुख्यमन्त्रीले के कर्णालीको विकास गर्लान ? कसरी शिक्षामा सुधार होला ?” जिल्ला शिक्षा कार्यालयका एक कर्मचारीले अनलाइन डबलीसँग भने । उनले मुख्यमन्त्री शाही पैसाको लागि जे पनि गर्न सक्ने नेता भएको आरोप समेत लगाए ।
जिल्ला शिक्षा अधिकारी भएका बिष्णु तिवारीले शिक्षिका चन्दाले नपढाएरै तलब बुझ्दै आएको कुरा थाहा पाएर पनि मौन बस्दै अाएका छन् । मुख्यमन्त्री शाहीकै पहलमा तिवारी जिशिअ भएकोले नपढाएरै सेवा सुविधा बुझ्ने व्यवस्था मिलाउन सहयोग गरेको कर्मचारीहरु नै बताउँछन् । मुख्यमन्त्री भएदेखि त झन् दिनमा विहान, दिउँसो र साँझ जिशिअ तिवारीले शाहीलाई फोन गर्ने गरेको कर्मचारी बताउँछन् ।
विगत चार वर्षदेखि नपढाएरै बुझेको सेवा सुविधा फिर्ता गर्नुपर्ने स्थानीयहरु बताउँछन् । फिर्ता नभए अख्यिार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा हाल्ने तयारी पनि भइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।